दार्चुला । दार्चुला बैतडी सहित सुदूरपश्चिमा आजदेखि चैते नवरात्र शुरु भएको छ । नवरात्र सुरु भएसंगै दार्चुलाका विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिकामा अवस्थित हुनैनाथ मन्दिर औतालेकमा आइतवार (आज) बाट चैते नवरात्र सुरु भएको मन्दिरका धामी जितेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
हुनैनाथ मन्दिर औतालेकमा नवरात्र सगै चैत्र २३ गते महाअष्ठमीका दिन अष्ठमीजात्रा लाग्ने उहाँले बताउनुभयो । नवरात्र सुरु भएसगै औतालेकमा भक्तजनहरुको घुइँचो लागेको छ । चैते नवरात्रको समयमा हुनैनाथ मन्दिर औतालेकमा दार्चुला बैतडी सहित भारतको उत्तराखण्ड प्रदेशका विभिन्न क्षेत्रबाट पूजापाठ गर्न भक्तजनहरु आउने गरेको धामीले बताउनुभयो ।
त्यस्तै लेकमको हुनैनाथ मन्दिर धुरा, हुनैनाथ मन्दिर कुणी लगायतका मन्दिरहरुमा पनी नवरात्र सुरु भएको सम्बन्धित मन्दिरका पूजारीहरुले बताएका छन् । नवरात्रको समयमा शक्तिपिठ तथा मन्दिरहरुमा दैनिक नित्य पूजापाठ गर्ने गरिएको ज्योतिष इन्द्र देब जोशीले जानकारी दिनुभयो । चैत्र २३ गते महाअष्ठमीमा दार्चुलाको औतालेक, धुरा र कुणीमा (चैत्रे दशैँका दिन) अष्ठमी जात्रा लाग्ने गरेको उहाँले बताउनुभयो । चैत्रे दशैँका दिन बलीसहित पूजाआजा गर्ने गरिएको उहाँले बताउनुभयो ।
सत्ययुगमा भगवान राम र रावणको युद्धमा रामले विजयी पाप्त गरेको सम्झना तथा चैत्र शुक्ल पक्षको रामनवमी (चैत्र २४) गतेका दिन भगवान रामको जन्म भएको सम्झनामा पूजाआजा गर्ने गरिएको समेत उहाँले बताउनुभयो । शक्तिपीठ तथा मन्दिरहरुमा चैते नवरात्रको समयमा पूजापाठका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् ।
बसाइसराइ गरेर गएकाहरु पनि चैत नवरात्रको समयमा पुख्र्यौली थातथलोमा पूजाआजाका लागी पुग्ने गरेको स्थानीय संस्कृतिका जानकारी एंव भैरवनाथ मन्दिरका पूजारी कम्मान सिंह खत्रीले जानकारी दिनुभयो । पूजाआजाको समयमा टाढाका आफन्तहरुसंग भेटघाट हुने भएकाले यसको सामाजिक महत्व समेत रहेको उहाले बताउनुभयो ।
त्यस्तै बैतडीको निङ्गलाशैनी भगवती मन्दिर लगायत विभिन्न शक्तिपिठहरुमा पनी चैते नवरात्रा सुरु भएको छ ।





प्रतिक्रिया