व्याँसको पैदलबाटाे निर्माणका लागि दुई कम्पनीको प्रस्ताव

दार्चुला । व्याँस गाउँपालिकाको छाङरू-दुम्लिङ घोरेटो बाटो निर्माणका लागि दुई वटा निर्माण कम्पनीले प्रस्ताव दर्ता गरेका छन् । संघीय सरकारबाट प्राप्त ५ कराेड ५० लाख रूपैयाँ खर्चेर पैदलबाटाे निर्माण गर्न गाउँपालिकाले टेण्डर आह्वान गरेपछि दुई कम्पनीको टेण्डर परेको हो ।

संघीय सरकारकाे सशर्त अनुदानमा अन्तरगत आह्वान गरिएको टेण्डरको समय सकिएको छ । यहीँ चैत्र १३ गतेसम्मको एक महिना लामाे सूचनाकाे समयावधिमा दुइटा समूहले प्रस्ताव पेश गरेकाे गाउँपालिकाका सव-इन्जिनियर जगत सिंह डडालले जानकारी दिनुभयो । सार्वजनिक खरिद अनुगमन कार्यालयबाट टेण्डर प्रक्रिया दुई दिन थपिएकोमा आइतबारदेखि प्रस्तावहरूकाे मुल्यांकन कार्य थालिएको उहाँले बताउनुभयो ।

पैदलबाटाे निर्माणका लागि दार्चुलाको नमस्कार निर्माण सेवा र रिठगडे निर्माण सेवाकाे तर्फबाट संयुक्त (जेभी) प्रस्ताव दर्ता गरिएको छ । त्यसैगरी दार्चुलाकै देवहरि निर्माण सेवाले मिशन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाडौंसंगकाे साझेदारीमा संयुक्त (जेभी) प्रस्ताव पेश गरेको छ । दुबै प्रस्तावहरूकाे प्राविधिक मुल्यांकन सुरू भएको र अबकाे दुई-तीन दिनभित्र मुल्यांकन कार्य सकिने सव-इन्जिनियर डडालले बताउनुभयो ।
दुबै प्रस्तावका कागजपत्रहरूकाे चेकजाँच (पुष्टि) गरिने र त्यसपछि आर्थिक प्रस्ताव खाेलिने उहाँले जानकारी दिनुभयाे । टेण्डरकाे प्रतिस्पर्धामा २ कराेड ८० लाख रूपैयाँ बराबरकाे उस्तै प्रकृतिकाे कार्यअनुभव भएको शर्त राखिएको छ । कार्यअनुभव बढी रकमकाे मागिएकोले संयुक्त (जेभी) मा प्रस्तावहरू दर्ता गरिएका छन् । प्राविधिक र आर्थिक प्रस्ताव खाेलिएपछि आशयपत्र र सम्झौता प्रकृया अगाडि बढाइने बताइएको छ ।

प्रकृयागत ढिलाइका कारण नयाँ वर्षमा मात्रै ठेक्का सम्झौता भइ निर्माण कार्य सुरू हुनसक्ने अवस्था रहेको छ । व्याँस गाउँपालिका वडा नम्बर १ छाङरू र टिंकरका स्थानीयबासिन्दाले सदरमुकामदेखि आफ्नै गाउँसम्म आवतजावत गर्न स्वदेशको बाटो नहुदा भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता छ । व्याँसबासीले आफ्नै देशको बाटो प्रयोग गरि गाउँसम्म आवतजावत गर्न पाउने गरि बाटो निर्माणका लागि संघीय सरकारबाट बजेट विनियोजन भएपनि प्रकृयागत ढिलाइले वैशाखमा समेत भारतबाटै कुन्चा सर्नुपर्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?