दार्चुला । भारतीय राजदुताबासले महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा दार्चुलाको व्याँस गाउँपालिकालाई नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएको महेन्द्रा बोलेरो एम्बुलेन्स सहयोग गरेको छ ।
नेपाल भारत फ्रेन्डसीप एसोसिएसनले भारतीय राजदुताबास काठमाण्डौलाई दार्चुलाको व्याँस गाउँपालिकालाई एम्बुलेन्स उपहार प्रदान गर्न अनुरोध गरे अनुसार एम्बुलेन्स प्रदान गरिएको हो ।
काठमाण्डौँमा रहेको भारतीय राजदुताबास परिसरमा व्याँस् गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीलाई भारतीय राजदूत विनय मोहन क्वात्राले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
भारतले महात्मा गान्धीको जन्म जयन्तीका अवसरमा नेपाललाई ४१ एम्बुलेन्स सहयोग गरेको छ । भारतीय राजदूतावास काठमाडौँले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा ४१ वटा एम्बुलेन्स सहयोग गरेको जनाएको छ ।
साथै ६ वटा बस समेत उपहार स्वरुप प्रदान गरेको भारतीय राजदुतावासले जनाएको छ । सन् १९९४ देखि आज सम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराएको जनाएको छ ।




