दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा अवस्थित हुनैनाथ मन्दिर औतालेकमा ‘चैते’ दशैँ जात्रा सम्पन्न भएको छ ।
परापूर्व कालदेखि लाग्दै आएको चैते दशैँ जात्रा शनिवार (आज) सम्पन्न भएको हुनैनाथ मन्दिर औतालेकका भरणे गगन सिंह धामीले जानकारी दिनुभयो । वर्षको अन्तिम जात्राका रुपमा मानिने चैते दशैँ जात्रामा नयाँ अन्नवाली, गहुको पिठो गाइको ध्यु, र सख्खरमा भुटेर प्रशादको रुपमा मन्दिरमा चढाएर भक्तजनहरुलाई बाढने गरिन्छ ।
हुनैनाथ मन्दिरमा चैते दशैँको महाअष्टमीमा रात्रीकालीन, विजयादशमीमा दिवाकालीन, कार्तिक शुक्ल पक्ष अष्टमी तिथीमा ठुली जात्रा र माघ शुक्ल पक्षको अष्टमी तिथीमा जात्रा लाग्ने गरेको मन्दिरका धामी (पतर्या) जितेन्द्र सिंह धामीले जानकारी दिनुभयो । अन्य जात्राभन्दा यस महिनामा लाग्ने जात्रामा श्रद्धालु भक्तजनहरुको भिडभाड बढि हुने गरेको उहाँले बताउनुभयो ।
चैते जात्रामा दार्चुला बैतडी सहित मित्रराष्ट्र भारतको पिथौरागढ, बालुवाकोट र धारचुलाबाट श्रद्धालु भक्तजनहरु मन्दिरमा पूजाआजाको लागि आएको उहाँले बताउनुभयो । शुद्ध मनले हुनैनाथमा पूजा तथा उपासना गरेमा मनले चिताएको काम पुरा हुने विश्वास रहिआएको छ ।





प्रतिक्रिया