दार्चुला । दार्चुलामा चार दिने बृहत योग विज्ञान शिविर सञ्चालन भएको छ । पतञ्जली योग समिति दार्चुला, महिला पतञ्जली योग समिति दार्चुला र युवा नेपाल समिति दार्चुलाको आयोजनामा सदरमुकाम खलंगास्थित खुलामञ्चमा योग विज्ञान शिविर सञ्चालन भएको हो ।
‘योग गरौं निरोगी बनौं’ भन्ने मुल नाराका साथ सञ्चालन भएको योग शिविरको पूर्वमन्त्री गणेशसिह ठगुन्नाले मंगलबार (आज) उद्घाटन गर्नुभएको छ । योग शिविरमा पुज्या साध्वी देवादिचीले मुख्य प्रशिक्षण दिइरहनुभएको छ । यस्तै प्रदेश प्रभारी योगाचार्य कासिनाथ भट्टले पनि योग प्रशिक्षण गराउनुहुने छ।
महाकाली नगरपालिकाको सहयोग तथा जिल्ला प्रशासन कार्यालय दार्चुलाको सहजीकरणमा शिविर सञ्चालन भइरहेको छ । शिविरमा जिल्लाभरि गठन गरिएका महिला योग समितिमा आवद्ध महिलाको सहभागिता रहेको छ ।
दार्चुलामा पछिल्लो समय योगप्रति आकर्षण बढिरहेको छ । खलंगामै गल्फै, दार्चुला विकास संगठन, छन्ना तिंकरी कन्या माध्यमिक विद्यालय र बंगाबगडमा नियमित योग कक्षा सञ्चालन हुँदै आएको छ । यस्तै मालिकार्जुन गाउँपालिकाको शंकरपुरमा नियमित योग कक्षा हुने गरेको छ ।
खलंगामा सञ्चालन भएको योग विज्ञान शिविर बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने छ । यस्तै दिउँसो १ बजेदेखि ५ बजेसम्म ज्ञान प्रवचन हुने जनाइएको छ ।





प्रतिक्रिया