दार्चुला । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाउन लागिएको हो । त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
अभियानअन्तर्गत हिजो धेरैले भिटामिन ‘ए’ र जुकाको औषधि खाएका छन् । हिजो छुटेका कतिपय बालबालिकालाई आज खुवाउन लागिएको हो । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटा समेत दिइनेछ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट शुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।
दार्चुलामा १३ हजार ९ सय ४० जना बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य रहेको छ । यस मध्ये ८ हजार १ सय ९५ जना बालबालिकालाई जुकाको औषधी र ९ हजार ३ सय १४ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । अभियानका लागी जिल्लाभरिका ३ सय ८० जना महिला स्वास्थ्य स्वयसेविकालाई परिचालन गरिएको छ । हिजो छुटेका बालबालिकालाई आज औषधी खुवाईनेछ । सरकारले प्रत्येक ६/६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आएको छ ।





प्रतिक्रिया