दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा वडा नम्बर ५ को नौमुणे क्षेत्रमा निकालिएको खरीबाट ७ वर्षको अवधिमा भन्सार कार्यालय दार्चुलाले ५७ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
दुहुँ गाउँपालिका वडा नम्बर ५ नौमुणेको ५.८७ वर्ग किलोमिटर जमिन लिजमा लिएर खरी निकाल्ने काम भइरहेको छ। जियो मिनिरल रिर्जब्स प्रालिले आव २०७४÷७५ देखि हालसम्म तीन हजार ८३८ टन खरी भारत निर्यात गरेको दार्चुला भन्सार कार्यालयको तथ्याङ्क छ।
विगत ८ वर्षदेखि जिल्लाको उत्तरमा पर्ने दुहुँ गाउँपालिका–५ को नौमुणे क्षेत्रबाट निकालिएको खरी खलङ्गा नाकाबाट भारतको हल्द्धानी निर्यात भइरहेको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिए। नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागमा कञ्चनपुर जिल्लाको जियो मिनिरल रिर्जब्स प्रालिले आर्थिक वर्ष २०७४÷७५ मा खानी दर्ता गरेर सो ठाउँमा उत्खनन गरेर खरी निकाल्न सुरु गरेको थियो ।
खानीमा १५ जना स्थनीय महिला, पुरुषले रोजगारी पाएका छन्। उनीहरूलाई प्रालिले दैनिक ७५० रुपियाँ ज्याला उपलब्ध गराउँदै आएको छ। विगतका वर्षमा भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्ने गरेका महरा खरीखानी सञ्चालनमा आएदेखि गाउँमै काम गरिरहेका छन्। सरकारले खनिज पदार्थ भएको जमिनलाई बिना कुनै रोकटोक काम गर्ने कम्पनीलाई उपलब्ध गराउन सक्नुपर्नेमा स्थानीयको जोड छ ।





प्रतिक्रिया