दार्चुला । हमास समुहको आक्रमणमा परि मृत्यु भएका परिवारसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले भेटघाट गर्नुभएको छ । मंगलवार दार्चुला पुगेका राजदूत बासले बुधवार (हिजो) मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथका मृतक लोकेन्द्र सिंह धामीको परिवारसँग भेटघाट गरेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष धनसिंह धामीले जानकारी दिनुभयो ।
परिवारसँगको भेटघाटमा बासले घटनाप्रति दुःख् व्यक्त गर्दै पारिवारिक अवस्था, मृतक धामीको रुचिको विषयबारे चासो लिदै सहयोगको लागि बचनवद्धता दिनुभएको छ ।
राजदूत बासले दार्चुलाको लेकम गाउँपालिकाका घर भइ हाल कञ्चनपुर बस्दै आएका दीपेश राज विष्टका परिवारसँग पनि भेटघाट गर्नेछन् । विष्टको परिवार कञ्चनपुरस्थित भिमदत्त नगरपालिका वडा नम्बर १५ निम्बुखेडा बस्दैआएका छन् । दार्चुलाबाट फर्केका राजदूत बासले कञ्चनपुरमा विष्टको परिवारसँग भेटघाट गर्ने बताइएको छ ।
प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट २०८० साल अशोज २० गते दार्चुलाका धामी र विष्टसहित १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको आक्रमणमा परेका कञ्चनपुरका विपिन जोशी भने अझै बेपत्ता रहेका छन् ।





प्रतिक्रिया