दार्चुला । भूमी समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले स्थानीय तहमा सहजीकरण समिति गठन गर्ने कार्य शुरु गरेको छ ।
पालिकाहरुसंगको समन्वयमा स्थानीय सहजीकरण समिति गठन गर्ने कार्य शुरु भएको भूमी समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लाल सिंह धामीले बताउनुभयो ।
जिल्लाको लेकम गाउँपालिका र नौगाड गाउँपालिकामा बुधबार (आज) सहजिकरण समिति गठनको लागि निणर्य गरिएको उहाँले बताउनुभयो । कार्यपालिकाको बैठकले अनुमोदन गरे पछि सहजिकरण समिति गठन गरिने अध्यक्ष धामीले बताउनुभयो ।
सहजिकरण समिति गठनको लागि भूमी समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लाल सिंह धामी, सदस्य नारायण भट्ट, जिल्ला समन्वय समितिबाट गणेश बहादुर पाल, नापी कार्यालयका सर्वेक्षक प्रेम राज अवस्थीसहितको टोली र गाउँपालिकाको तर्फबाट अध्यक्ष राम दत्त जोशीसहित जनप्रतिनिधि र कर्मचारीको उपस्थितीमा सहजिकरण समिति गठनको निणर्य गरिएको गाउँपालिका अध्यक्ष राम दत्त जोशीले बताउनुभयो । त्यस्तै नौगाड गाउँपालिकामा पनि सहजिकरण समिति गठनको लागि निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्नाले बताउनुभयो ।
यस अघि जिल्लाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका समिति गरि सकिएको अध्यक्ष धामीले बताउनुभयो । भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि स्थानीय सहजीकरण समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । सम्बन्धित पालिका प्रमुख संयोजक रहने समितिमा उपप्रमुख सहसंयोजक र पालिकाका पमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था रहेको छ।
यस्तै पालिकाभित्र रहेका राष्ट्रिय राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरु समितिमा सदस्य रहने व्यवस्था रहेको अध्यक्ष धामीले बताउनुभयो । उक्त समितिले पालिकाभित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर प्रमाणीकरणका लागि सम्बन्धित कार्यपालिकाबाट निर्णय गराउने छ । उक्त निर्णयलाई जिल्ला समितिमा समेत पठाउने अध्यक्ष धामीले बताउनुभयो ।
आयोगको जिल्ला समितिले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने अध्यक्ष धामीको भनाई छ ।





प्रतिक्रिया