दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सुरु भएको छ ।
चालु आर्थिक बर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामान्य हिडडुल गर्न नसक्ने सामाजिक सुरक्षा भत्ताा प्राप्त गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने नागरिकहरुलाई वडाहरुमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरको पहिलो दिन आज गाउँपालिकाको वडा नम्बर ३ लालीमा ७९ जना महिला र २९ जना पुरुष गरी कुल १ सय ८ जनालाई वडास्तरबाटै सेवा दिइएको गाउँपालिकाका एमआइएस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो । वडा नम्बर ३ का वडाअध्यक्ष एंव गाउँपालिका प्रवक्ता सुरेश सिंह थापाको अध्यक्षतामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । त्यस्तै शिविरमा वडाका निर्वाचित जनप्रतिनिधिहरु, लक्ष्मी सर्र्नराइज बैंक लेकम शाखाका कर्मचारीहरु, गाउँपालिकाका शाखागत कर्मचारी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै बैशाख २२ गते (भोली) वडा नम्बर ४ को कार्यालय खरकडामा, २३ गते वडा नम्बर ६ को कार्यालय उचाकोटमा, २४ गते वडा नम्बर १ को कार्यालय सर्मोलीमा र २५ गते वडा नम्बर २ को वडा कार्यालय कुणीमा शिविरका माध्यमबाट सेवा दिईने अपरेटर बिष्टले बताउनुभयो । वडा नम्बर ५ को हकमा लक्ष्मी सनराईज शाखा बैंक नजिकै रहेकाले ५ नम्बर वडामा शिविर सञ्चालन नहुने र बैंकबाटै भत्ता वितरण गरिने अपरेटर प्रकाश राज बिष्टले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र र चेक बुक सहित सम्बन्धित वडा कार्यालयहरुमा उपस्थित भइ सेवा लिन अनुरोध गरिएको छ ।





प्रतिक्रिया