दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले बैतडीको सतबाँज देखि दार्चुलाको तिंकर सम्मको सडकलाई राष्ट्रवादी नेता प्रेम सिंह धामीको सम्मानमा नामाकरण गर्न माग गरेको छ ।
गाउँपालिकाले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै दार्चुला जिल्ला स्थित कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत भारतीय अतिक्रमणमा परेको क्षेत्रसम्म सडक सञ्जालले जोड्ने मार्गका रुपमा रहेको बैतडीको सतबाँज देखि दार्चुला तिंकर सडकलाई अतिक्रमित भूमिलाई राष्ट्रिय रुपमा उठान गर्ने स्वर्गीय नेता प्रेम सिंह धामीको सम्मानमा प्रेम सिंह धामी लोकमार्ग कायम गर्न माग गरेको हो ।
मालिकार्जुन गाउँपालिकाका गाउँ सभा र जिल्ला सभाबाट समेत उक्त सडक खण्डलाई प्रेम सिंह धामी लोकमार्ग कायम गर्ने निर्णय भएकोले नामांकरणको लागि गाउँपालिकाले सिफारिस गरेको पत्रमा उल्लेख गरिएको छ।
गाउँपालिकाले उक्त सडकलाई प्रेम सिंह धामी लोकमार्ग नामांकरण गर्नुपर्ने विभिन्न कारण र आधारहरु समेत उल्लेख गरेको छ।
जस अनुसार दार्चुला सदरमुकाम खंलगालाई राष्ट्रिय सडक मार्गसंग जोड्न र सोका लागि पर्याप्त बजेट विनियोजन गर्न स्वर्गीय नेता धामीले महत्वपुर्ण भूमिका निर्वाह गरेको पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै आर्थिक बर्ष २०५२/५३ मा उक्त सडक खण्ड निर्माणका लागि न्यून बजेट विनियोजन भएपछि थप बजेट विनियोजन नभएमा मन्त्रीको जिम्मेवारी छोड्ने लिखित घोषणा गरि पर्याप्त बजेट विनियोजनका लागि दबाव दिएको उल्लेख गरिएको छ।
हाल राष्ट्रिय लोकमार्ग नम्बर १४ कैलाली अत्तरीया देखि दार्चुलाको खलंगा सम्मको सडक खण्डलाई महाकाली लोकमार्ग भनिएको भएतापनि त्यही सडक खण्डको धनगडी देखि डडेल्धुरा सम्मको १४० किलोमिटर को सडकलाई भिमदत्त पन्त मार्ग नामांकरण गरिएको, त्यही सडक खण्डको डडेल्धुरा देखि बैतडी सतबाँज हुँदै झुलाघाट सम्मको खण्डलाई दशरथचन्द मार्ग नामांकरण गरिएको, नेता धामीको जन्म तथा कर्मभूमिमा अवस्थित यस सडक खण्डलाई उहाँको नामबाट नामांकरण गरिदा उहाँप्रति उच्च सम्भार जनभावनाको कदर समेत हुने र यस प्रकार निर्माणको क्रममा बैतडी दार्चुला सडक खण्ड भनि योजना सञ्चालन भएको बैतडीको सतबाँज हुँदै दार्चुलाको गोकुलेश्वर खलंगा सडक खण्डलाई प्रेम सिंह धामी लोकमार्ग नामांकरण गर्न आवश्यक छ, गाउँपालिकाले जारि गरेको सिफरिस पत्रमा उल्लेख गरिएको छ।





प्रतिक्रिया