दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न भएको छ ।
चालु आर्थिक बर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने नागरिकहरुलाई लक्षित गरि वडाहरुमा सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न भएको गाउँपालिकाका एमआईएस अपरेटर प्रकाश राज विष्टले जानकारी दिनुभयो । ६ वडा रहेको गाउँपालिकामा वडा नम्बर ५ को हकमा लक्ष्मीसनराईज बैंकको शाखा सञ्चालनमा रहेकोले वडा नम्बर ५ बाहेकका ५ वडामा शिविर सञ्चालन गरिएको थियो ।
आइतबार गाउँपालिकाको वडा नम्बर ३ बाट सुरु भएको शिविर शुक्रबार आज वडा नम्बर ६ मा सम्पन्न भएको उहाँले बताउनुभयो । गाउँपालिकाका ५ वटै वडामा ४ सय ९१ महिला र ३ सय ९२ जना पुरुष गरि ८ सय ८३ जनाले शिविरको माध्यमबाट सामाजिक सुरक्षा भत्ता बुझेको विष्टले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर १ सर्मेलीमा शिविरबाट १ सय १ महिला र ७७ जना पुरुष गरि १ सय ७८ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए । त्यस्तै वडा नम्बर २ कुणीमा १ सय २८ महिला र १ सय ११ पुरुष गरि २ सय ३९ जना, वडा नम्बर ३ लालीमा ७९ जना महिला र २९ जना पुरुष गरि कुल १ सय ८ जनाले शिविरबाट भत्ता बुझेको विष्टले बताउनुभयो । वडा नम्बर ४ खरकडामा ९८ जना महिला र ८१ जना पुरुष गरि कुल १ सय ७९ जना र वडा नम्बर ६ उचाकोटमा ८५ जना महिला र ६४ जना पुरुष गरि १ सय ४९ जनाले भत्ता बुझेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया