दार्चुला । दार्चुलामा प्रादेशिक कृषि विकास रणनीति (पिएडीएस) जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
भेटेरिनरी अस्पताल तथा कृषि ज्ञानकेन्द्र दार्चुलाको सयुक्त आयोजनामा प्रादेशिक कृषि विकास रणनीति सम्बन्धि बैठक कृषि ज्ञानकेन्द्र दार्चुलाको सभाहलमा सम्पन्न भएको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिनुभयो ।
कार्यक्रममा अगामी वर्षमा सञ्चालन गरिने कार्यक्रमहरु तथा योजना तर्जुमा र रणनीतिका विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । जिल्लाका नौँ वटै स्थानीय तहका प्रमुख एंव कृषि प्राविधिकहरुसंग समन्वय गरेर उत्पादन क्षेत्र छनोट गरिएको छ । अगामी आर्थिक वर्षमा एक पालिका एक उत्पादन, फरक पालिका फरक उत्पादन, व्यवसायीक बाली र प्राङ्गारिक बाली क्षेत्र छनोट गरेर उत्पादन हुने बालीहरु निर्घारण गरिएको छ ।
व्यवसायीक बाली कार्यक्रम अन्तरगत नौगाड गाउँपालिकामा तरकारी खेती, अपिहिमाल गाउँपालिकामा स्याउँ खेती, मार्मा गाउँपालिकामा आलु खेती, दुहुँ गाउँपालिकामा मसला बाली,ब्याँस गाउँपालिकामा आलु खेती, मालिकार्जुन गाउँपालिकामा ओखर खेती, लेकम गाउँपालिकामा मसला बाली, शैल्यशिखर नगरपालिकामा सुन्तला खेती र महाकाली नगरपालिकामा तरकारी खेतीको लागि बृहत प्रस्ताव खुल्ला गर्ने निर्णय गरिएको छ ।
प्राङ्गारिक बाली अन्तरगत नौगाडमा दाल बाली, अपिहिमालमा राजमा बाली, मार्मामा राजमा बाली, दुहुँमा स्थानीय केरा बाली, ब्याँसमा रैथाने बाली, मालिकार्जुनमा मसला बाली, लेकममा मैरी प्रवद्धन, शैल्यशिखरमा च्याउ खेती र महाकालीमा बृहत आलु खेतीको लागि प्रस्ताव खोल्ने निर्णय गरिएको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।
त्यस्तै जिल्लामा पछिल्लो समय गुड (सख्खर) को माग बढिरहेकाले शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मार्मा गाउँपालिकामा उखु प्रवद्धन कार्यक्रम सञ्चालन गर्ने, हिउँदे र बर्खे बाली प्रवद्धन कार्यक्रमहरु सञ्चालन गर्ने, गड्यौला मलको लागि संरचना निर्माण गर्ने, कृषि पत्रकारहरु तथा अगुवा कृषकहरुलाई प्रशिक्षण गराउने,कोल्ड स्टोर निर्माण गर्ने लगायतका निर्णय गरिएको छ । छलफलबाट पलिकाहरुलाई उत्पादनमा फोकस गर्ने तरिकाले अगामी वर्षमा कृषकमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका निर्णय गरिएको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख महादेब बडूको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्लाका नौँ वटै स्थानीय तहका प्रमुख एंव प्रतिनिधिहरु, कृषि प्राविधिकहरु सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया