दार्चुला । नेपाली सेनाद्धारा निर्माणाधीन महाकाली कोरिडोर अन्तरगत दार्चुलाको “तुसरपानी–कोठेधार–टिंकर“ सडक निर्माणको लागि नेपाली सेनाले हेलिकप्टरमार्फत छाङरूमा सामग्री ढुवानी गरिरहेको छ ।
सडक निर्माणको लागि सुन्सेराबाट आइतवार (हिजो) स्काभेटरका विभिन्न पार्ट-पुर्जा र लिप्टिङ म्यानेजमेन्टका साम्रगीहरु छाङरूमा ढुवानी गरेको नेपाली सेना दार्चुला-टिंकर सडक आयोजनाका फोकल अधिकृत तथा सह–सेनानी कैलास कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टरमार्फत सिंगो स्काभेटर बोक्न नसकिने भएपछि पार्टपुर्जाहरु निकालेर ढुवानी गरिएको हो ।
नेपाली सेनाको सडक निर्माणको टोली एक हप्ता अगाडी नै उक्त क्षेत्रमा पुगेर काम सुरु गरेको उहाँले बताउनुभयो । सेनाको टोली उक्त क्षेत्रमा पुगेसगै सेनाको बन्दोबस्तीको सामान र स्काभेटरका केहि भागहरु सहित तीन सिप्टमा सामान ढुवानी गरेको र थप निर्माण साम्रगीहरु भोलीबाट ढुवानी गरिने सह–सेनानी बस्नेतले बताउनुभयो ।
सेनाको सडक निर्माण टोलीले वैशाख १९ गतेबाट निर्माणकार्य सुरु गरेको र कामदारहरुको सहायतामा छाङरू गागा क्षेत्रमा दुई सय मिटर सडक निर्माण गरिसकेको बताइएको छ।




