दार्चुला । नेपाली सेनाद्धारा निर्माणाधीन महाकाली कोरिडोर अन्तरगत दार्चुलाको “तुसरपानी–कोठेधार–टिंकर“ सडक छाङरूपुल गाँगाबाट पिपलच्याक्ती खण्डमा स्काइभेटरद्धारा निर्माणकार्य सुरु भएको छ ।
बैशाख १९ गतेबाट श्रमीकहरु लगाएर सडक निर्माणको काम सुरु गरिएको र हिजोबाट स्काइभेटर लगाएर निर्माणकार्य सुरु भएको नेपाली सेना दार्चुला–टिंकर सडक आयोजनाका सूचना अधिकारी, सह–सेनानी कैलास कुमार बस्नेतले जानकारी दिनुभयो । सेनाले सडक निर्माणको लागी सुन्सेराबाट हेलिकप्टर प्रयोग गरेर स्काइभेटर ढुवानी गरेपछि हिजोबाट स्काइभेटरमार्फत निर्माणकार्य भइरहेको बस्नेतले बताउनुभयो ।
यसअघिको कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली भएकै बेला दार्चुला–टिंकर सडकको तुसरपानीदेखि टिंकरसम्म ७९ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । अहिले पनि टिंकर सडकमा बजेट अभाव र कार्यप्रगति शन्तोषजनक नरहेको गुनासोका बिच स्थानीयबासी, जनप्रतिनिधि र सरोकारवालाहरुको अनुरोधमा प्रधामन्त्री ओलीकै सक्रिय भूमिकापछि टिंकर सडकमा दुबैतर्फबाट काम सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले संसदलाई सम्बोधन गर्दै दार्चुला सदरमुकामदेखि उत्तरतर्फ निर्माण भइरहेको टिंकर सडक सरकारको प्राथमिकतामा रहेको बताउनुभएको थियो । गत सोमबारको बैठकमा कुनैपनि सांसदले टिंकर सडकबारे प्रश्न नराखेको अवस्थामा समेत प्रधानमन्त्री ओलीले टिंकर सडकमा सरकारले बजेट विनियोजन गरिरहेको जानकारी दिनुभयो । टिंकर सडकमा आवश्यकता र नेपाली सेनाको माग अनुसार बजेट विनियोजन गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले टिंकर सडक निर्माणको काम भइरहेको र डोजर थपिदै गरेको समेत जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले टिंकर सडकबारे चासो राख्नु सकारात्मक भएको भन्दै दार्चुलाबासीले प्रयाप्त बजेट विनियोजन गरि तिब्रताका साथ निर्माण कार्य अगाडी बढाउन अनुरोध गर्दै आएका छन् ।
नेपाल सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट सार्वजनिक गर्दैछ । उक्त बजेटमा दार्चुला–टिंकर सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन दार्चुलाबासीले माग गरेका छन् ।





प्रतिक्रिया