व्याँस पैदलबाटो निर्माणका लागि सम्झौता, चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

दार्चुला । दार्चुलाको व्याँस जोड्ने पैदलबाटो निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।

ठेक्का प्रक्रियाअन्तर्गत प्राविधिक र आर्थिक मुल्यांकन टुंगिएपछि व्याँस गाउँपालिका र मिशन देवहरि जेभीबीच जेठ ५ गते निर्माण सम्झौता गरिएको हो । चालू आर्थिक वर्षभित्र पैदलबाटो निर्माण कार्य सम्पन्न गर्नका लागि संघीय सरकारले व्याँस गाउँपालिकालाई ५ करोड ५० लाख बजेट सशर्त बजेट उपलब्ध गराएको छ । उक्त बजेटबाट बाटो निर्माण गर्न ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।

मिशन देवहरि जेभीले ५ करोड ६ लाख ९ हजार ९ सय ९४ रुपैयाँ ३० पैसामा बाटो निर्माण कार्य गर्ने सम्झौता गरेको छ । यो मूल्य अभिवृद्धि करसहितको रकम हो । सार्वजनिक खरिद ऐन र नियमावलीको व्यवस्थाअनुसार ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुवरले बताउनुभयो । बाटो निर्माणको जिम्मेवारी पाएको कम्पनीलाई गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग र सहजिकरण गर्ने गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो ।

बाटो निर्माणको समयावधि असार मसान्तसम्म मात्रै छ । समय कम भए पनि बढी जनशक्ति र साधनस्रोत परिचालन गरेर बाटो निर्माण कार्य सम्पन्न गर्न कम्पनी सक्रिय रहेको निर्माण कम्पनीले बताएको छ ।  जेठ महिनाको सुरुदेखि नै दर्जनौं कामदारसहितको टोली बाटो निर्माणस्थलमा परिचालन गरिएको छ । तम्बाकु, थिइभीर, घाटिबगर क्षेत्रमा पहिलो चरणमा बाटो निर्माण कार्य गरिने कम्पनीको तयारी छ ।

व्याँस गाउँपालिकाको वडा नम्बर २ कल्जुखोलाबाट तम्बाकु, थिइभीर हुँदै घाटिबगर क्षेत्रको पुरानो घोरेटो बाटो मर्मतगरी सञ्चालनमा ल्याउने तयारी छ । पहिलो चरणमा पुरानो घोरेटो बाटो सञ्चालनमा ल्याउने गरी काम गराइने व्यास गाउँपालिकाका सव इन्जिनियर जगत सिंह डडालले बताउनुभयो । दोस्रो चरणमा कल्जुदेखि तम्बाकु हुँदै थिइक्षेत्र र घाटिबगर क्षेत्रका वैकल्पिक बाटो पनि निर्माण गर्ने योजना छ । महाकाली नदी किनारको साविकको पुरानो बाटो सञ्चालनमा ल्याएपछि टिंकर सडकको एलाइनमेन्टभन्दा माथिल्लो क्षेत्रका अर्को वैकल्पिक बाटो पनि निर्माण गरिने सव इन्जिनियर डडालले बताउनुभयो ।

बयलीधार, दोपाखे, बुँदी र अपिखोला क्षेत्रमा पनि बाटो निर्माण गर्नु आवश्यक रहेको व्यासका स्थानीयहरुको भनाई छ । सबैक्षेत्रको बाटो निर्माण र मर्मत गरेर सञ्चालनमा ल्याइने व्यास गाउँपालिकाका इन्जिनियर महेश्वर धामीले बताउनुभयो । बाटो निर्माण कार्यको फिल्डस्तरमा पुगेर अनुगमन गरिने उहाँको भनाई छ । बाटो निर्माणको जिम्मेवारी पाएको कम्पनीले २२ लाख ४० हजार रुपैयाँको बैंक ग्यारेन्टीसमेत गाउँपालिकामा पेश गरेको छ । व्याँस पैदलबाटोको कार्यविववरण अनुसार व्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुदेखि वडा नम्बर २ दुम्लिङसम्मको ३१ किलोमिटर लामो भूभागबाट पैदलबाटो निर्माण गरि सञ्चालनमा ल्याइने छ ।

बाटो निर्माणअन्तर्गत जाली भर्ने कार्य ८ सय घनमिटर, माटो खन्ने कार्य १ हजार घनमिटर, मेसिनरी पर्खाल निर्माण ६ सय ३८ घनमिटर र ढुंगा विछ्याउने कार्य ३ सय घनमिटर गर्नुपर्नेछ । यसैगरी नरम चट्टान काट्नेकार्य १ सय ४० घनमिटर, कडा चट्टान काट्ने कार्य १ सय ९२ घनमिटर, ढुंगा र गिट्टीसहितको पलम कंक्रिट ४ सय ५० घनमिटर, आरसिसि निर्माण ६५ घनमिटर, सुख्खा ढुंगाको पर्खाल निर्माण १ हजार घनमिटर निर्माण गर्नुपर्ने ठेक्का सम्झौता छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?