नेपाल–भारतबीचको सीमा विवादका सम्वन्धमा नेपालसँग भएका प्रमाणहरुको विभिन्न आयामबाट मिहीन ढंगले विश्लेषण गर्ने र भारतसँगको वार्तामा कसरी प्रस्तुत हुने भनी सरकारलाई ठोस सुझाव दिन बनाइएको विज्ञ समूहका संयोजक डा. विष्णुराज उप्रेतीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको अकाट्य प्रमाण रहेको बताउनुभएको छ ।

विभिन्न ऐतिहासिक दस्तावेज र विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल र परामर्श गरेर तयार पारिएको प्रतिवेदन सो समितिले आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बुझाएको छ ।

प्रमाण जुटाउन होइन, पहिले नै भएका प्रमाणलाई संश्लेषण गर्न र विविध दृष्टिकोणबाट अध्ययन गर्न समिति बनेको उप्रेतीले बताउनुभयो । यस अगाडि सरकारले नक्सा जारी गरेपछि प्रमाण खोज्न समिति बनाएको भनी आलोचना भएको थियो ।

उहाँले भन्नुभयो, हामीले सीमाको एउटै विषयलाई फरक–फरक आयामबाट हेरेर अध्ययन गरेका छौं । यी क्षेत्र नेपाली भूभाग हुन् भन्नेमा हामीसँग अकाट्य प्रमाणहरु छन् ।’ उप्रेतीले मन्त्रीलाई बुझाएको प्रतिवेदनका बारेमा आफूले केही नबोल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सरकारलाई प्रतिवेदन बुझाएका छौं, सार्वजनिक गर्ने, गोप्य राख्ने सरकारको विषय हो ।’ नेपालसँग भएका प्रमाण, नक्सा र अन्य कागजातलाई आफूहरुले प्राथमिकीकरण गरेको उप्रेतीले बताउनुभयो ।

नेपालसँग भएका मुख्य प्रमाणहरु सन् १८१६ मा भएको सुगौली सन्धीले कायम गरेको सीमाङ्कन, स्थानीय जनताले कर तिरेको प्रमाण र विगतमा त्यहाँ जनगणना भएकालगायतका विषयहरु हुन् ।

सुगौली सन्धीमा पश्चिम सीमा कालीनदी भएको स्पष्ट छ र त्यसपछि भारतले नै जारी गरेका नक्सामा समेत लिम्पियाधुरासम्मकै भूभाग नेपाली भएको देखिएको थियो ।

पछि भारतले नक्कली काली बनाएर त्यसलाई नै सीमा भनी दाबी गरेको थियो । प्रमाण संकलन समितिले लिम्पियाधुरासम्म नै नेपाली भूभाग हो भन्ने प्रमाण जुटाएको एक सदस्यले बताउनुभयो ।

सुगौधी सन्धीअनुसार नावी, कुटी, गुन्जी र गब्र्याङ गाउँहरु नेपालमा नै पर्छन् । त्यसैले नेपालले पहिलो बलियो प्रमाणको रुपमा सुगौली सन्धी निर्धारण गरेको सीमा नै हो । दोस्रो, सो क्षेत्रका जनताले तिरेको कर र त्यहाँ नेपालले गरेको जनगणनालाई आधार बनाएर नेपालले लिम्पियाधुरासम्मकै भूभाग नेपाल भएको प्रमाण जुटाइएको छ ।

नेपालले विसं २०१५ सालको निर्वाचनमा त्यहाँका जनता मतदाता नामावलीमा संलग्न भएको, त्यहाँ जनगणना गरिएको र त्यहाँका जनताले कर तिरेको प्रमाण जुटाएको छ ।

यो पनि पढ्नुहोस : स्थलगत निरीक्षणविनै विज्ञ समूहले बुझायो सरकारलाई प्रतिवेदन

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?