दार्चुला । संघीय समपूरक अनुदान अन्तर्गत स्थानीय तहबाट कार्यान्वयन हुने गरी दार्चुलाका ११ वटा आयोजना तथा कार्यक्रममा बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक बर्ष २०८२।०८३ को बजेटमा संघीय समपुरक अनुदान तर्फ दार्चुलाका स्थानीय तहबाट निर्माण हुने गरी नौँ वटा नयाँ र दुई वटा क्रमागत गरी ११ वटा आयोजनामा कुल १४ करोड ४२ लाख बजेट विनियोजन गरिएको हो ।
दार्चुलाको लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा संघीय समपुरकतर्फ दुई/दुई आयोजना परेका छन भने अन्य सात वटा स्थानीय तहमा एक÷एक आयोजना परेका छन् । क्रमागत आयोजनामा मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण र लेकम गाउँपालिकाको गोकुलेश्वर लाली सडक आयोजना रहेका छन । नौँ वटै स्थानीय तहमा एक/एक गरी नौँ वटा आयोजना नयाँ समावेस गरिएको छ ।
संघीय समपूरक अनुदान अन्तर्गत व्याँस गाउँपालिकाबाट कार्यान्वयन हुने गरी तिमुरबाटा हुती धौलाकोट मडगाउँ माल सडकमा एक करोड ३२ लाख बजेट विनियोजन गरिएको छ । कुल लागत ६ करोड ६३ लाख रहेको यो सडक तीन वर्ष भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
दुहुँ गाउँपालिकामा गाउँपालिकाको गुणस्तरीय शिक्षाको लागि सामुदायिक विद्यालहरुमा भौतिक पुर्वाधार बृहत शैक्षिक सुधार योजनामा एक करोड ३९ लाख बजेट विनियोजन गरिएको छ ।
महाकाली नगरपालिकामा आधुनिक प्रविधिद्धारा फोहोरमैला संकलन गरि प्रशोधन गर्ने (नयाँ प्रशोधन साइट निर्माण) को लागि ८७ लाख बजेट विनियोजन गरिएको छ ।
नौगाड गाउँपालिकामा तल्ला सुण्डमुण्डदेखी छिपुलथान विविधता पार्कसम्मको पर्यटकीय पदमार्ग निर्माण गर्न ५२ लाख बजेट विनियोजन गरिएको छ ।
अपिहिमाल गाउँपालिकामा हाई अल्टिच्युड साहशीक पर्यटन रंगशाला निर्माण आयोजनामा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
मार्मा गाउँपालिकामा शेरी सिरोली पत्थरकाँडा सडक निर्माणमा एक करोड बजेट विनियोजन गरिएको छ ।
शैल्यशिखर नगरपालिकामा बगौरा रानिशिखर देथला तौकी बारिल सडक स्तरोन्नती गर्नका लागि ९२ लाख बजेट विनियोजन गरिएको छ ।
मालिकार्जुन गाउँपालिकाको क्रमागत योजना प्रशासकीय भवन निर्माण आयोजनामा एक करोड ५७ लाख बजेट विनियोजन गरिएको छ । मालिकार्जुनकै ऐरिछाना डाडाकोट बाँकु सडक योजनामा एक करोड ३९ लाख बजेट विनियोजन गरिएको छ ।
लेकम गाउँपालिकाको क्रमागत योजना गोकुलेश्वर लाली सडक खण्डमा दुई ७० लाख बजेट विनियोजन गरिएको छ । देथली पिर्तोली अम्कुर गोगना गणेत सडकमा एक करोड ३४ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै संघीय समपूरक अनुदान अन्तर्गत प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना अन्तरगत मार्माको तपोवन निम्ठा मुरै बिनायक सडकमा संघीय सरकारले पाँच करोड ५६ लाख बजेट विनियोजन गरेको छ । उक्त सडकको कुल लागत अनुमान ६० करोड रहेको छ ।





प्रतिक्रिया