दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का विभिन्न टोलहरुमा भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलन सम्पन्न भएको छ ।
भूमी समस्या समाधान आयोग दार्चुलाको टोलीले वडा नम्बर ६ (साविकको ग्वानी गा.वि.स.का वडा नम्बर १,२ र ३ ) मा रहेका भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलन गरि विवरण दर्ता गरेको भूमी समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले बताउनुभयो ।
उक्त टोलहरुमा जम्मा ७५ जनाको फाइल दर्ता गरिएको उहाँले बताउनुभयो । दर्ता गरिएका ७५ जनालाई असार मसान्त भित्रै जग्गाधनी (रातो) पुर्जा वितरण गर्ने गरि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुकुम्बासीहरुका लागि जग्गा एकीन गर्ने र नगरपालिका क्षेत्रभित्र रहेको बाँझो जमीन, सार्वजनिक जमीन, बाटोघाटो, पानी पँधेरो लगायतका कुराहरु छुट्याउने कार्य सम्पन्न भएको छ । जग्गा एकीन गर्नका लागि नापी सर्वेक्षक प्रेम राज अवस्थीसहितको प्राविधिक टोली पनि संगै रहेको उहाँले बताउनुभयो ।
शनिबार नगरपालिकाको वडा नम्बर ६ का विभिन्न बस्तीहरुमा जग्गा सर्वेक्षण संगै सुकुम्बासीहरुको फाईल दर्ताको काम गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष जगदिश सिंह धामीले बताउनुभयो ।
टोलीमा भूमी समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामी र अन्य जिल्ला सदस्यहरु, वडा नम्बर ६ का वडा अध्यक्ष जगदिश सिंह धामी, नापी सर्वेक्षक प्रेम राज अवस्थी, वडा सदस्य पदम सिंह धामी रहेको वडा अध्यक्ष धामीले बताउनुभयो । फाईत दर्ता र जग्गाको कित्ता सम्बन्धी कुनै समस्या भए ३५ दिने सूचना जारी गर्ने र त्यस पछि लगत्तै पुर्जा वितरण गरिने अध्यक्ष लाल सिंह धामीले बताउनुभयो ।





प्रतिक्रिया