दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।
सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रमलाई हुन्छ वा हुन्न भनी मत व्यक्त गर्न भन्दै निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षी सांसद मौन बसेका थिए । नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।
उनले सरकारले सार्वजनिक गरेको चार बँुदे प्रतिवद्धतालाई आधार मानेर बजेट बनाउने बताउनुभयो। सरकारले २५ लाखभन्दा तलका योजना प्रदेशले कार्यान्वयन नगर्ने, उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्नेलगायत चार बुँदे प्रतिवद्धता आइतवार सार्वजनिक गरेको थियो ।
मुख्यमन्त्री शाहले सांसदका योजनामा पनि बजेटको व्यवस्था गरिने बताउनुभयो । निर्वाचन क्षेत्रमा सांसदका प्रतिवद्धता हुने उल्लेख गर्दै शाहले सांसदका योजनामा बजेटको व्यवस्था गरिने जानकारी दिनुभयो ।
त्यस्तै आगामी वर्ष प्रदेश राजधानीको विषयमा केन्द्र सरकारले जग्गाको टुङ्गो लगाउने उनको भनाइ थियो । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्षीसँगै सत्तापक्षका सांसदले समेत नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।





प्रतिक्रिया