नौगाड गाउँपालिकामा अन्तरपालिका समन्वय बैठक सम्पन्न, ६ बुँदे निर्णय पारित

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका र मार्मा गाउँपालिका बिच अन्तर पालिका समन्वय बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

बुधवार (आज) नौगाड गाउँपालिकाको सभाहलमा सम्पन्न अन्तर पालिका समन्वय बैठकबाट दुबै स्थानीय तहहरुको समन्वयमा रहने गरी ६ बुँदे निर्णयहरु पारित गरिएको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिनुभयो ।

बैठकले प्रदेश सरकारले बजेट विनियोजन गरी कार्यान्वयनमा राखेका तपोवन-मुरै–निम्ठा–सिप्टी विनायक हुदै होपरीगाड सडक आयोजना र नौगाड होपरीगाड विनायक सडक आयोजनहरुको एउटै नाममा आयोजना कायम हुने र दुईटै आयोजनालाई एउटै आयोजनाको रुपमा कार्यान्वयन गर्न र सो सडकलाई प्रदेश गौरवको आयोजनाको रुपमा बजेट सुनिश्चित गर्न आवश्यक पहल र सम्बन्धित निकाय समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै नौगाड गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ५ जोड्ने सडक पुल यथाशिघ्र निर्माणका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने, नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय स्थल विनायक सुङरखालीमा विनायक बहुउद्देशीय पार्क निर्माणका लागि दुईवटै पालिकाको लागत साझेदारीमा पार्क निर्माण गर्न आयोजना समक्ष सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको अध्यक्ष धामीले बताउनुभयो ।

त्यस्तै नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी र मार्मा गाउँपालिका वडा नम्बर ६ पत्थरकाडा, निम्ठा लगायतका क्षेत्रमा खानेपानी तथा सिचाइ लगायतका समस्या समाधान र बहुउपयोगी खानेपानी आयोजना सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने र सोका लागि विभिन्न सझेदार संस्थाहरुको समन्वयमा विस्तृत सर्वेक्षण गरी सम्भाव्य आयोजनाहरु दुबै पालिकाको संयुक्त लगानीमा सञ्चालन गर्ने, कृषि क्षेत्रमा दुबै पालिकामा रहेका कृषि क्षेत्रमा सफल अभ्यासहरुलाई कृषकहरु माझ तालिम, भ्रमणका माध्यमबाट ज्ञान सीपहरु आदान प्रदान गर्ने, जिल्लाका उच्च प्राकृतिक प्रकोप जोखिम र विपद् संकटग्रस्त नौगाड गाउँपालिका र मार्मा गाउँपालिकामा हुने सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न दुईवटै पालिकाको समन्वय र सहकार्यमा विपद् प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने लगायतका निर्णय गरिएको उहाँले बताउनुभयो ।

नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्षहरु, प्रशासकीय अधिकृतहरु, जनप्रतिनिधि, समाजसेवी स्थानीय लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?