दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार (आज) गाउँसभाको १७औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष रामदत्त जोशीले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
लेकम गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सबै क्षेत्रमा विकास तथा सुधार गर्ने लक्ष्य लिइएको छ । कृषिसहित आर्थिक विकास, सडक, खानेपानी सहित भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन सेवा प्रवाह र विपद व्यवस्थापन, वन तथा वातावरणको क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ । गाउँपालिकाका ६ वटै वडामा एक वडा एक विषेश क्षेत्र राख्ने नीति ल्याइएको छ । गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरु पहिचान गरी पर्यटकीय स्थलहरु संरक्षण एंव सम्बद्र्धन गर्ने, आन्तरिक रोजगार प्रवद्र्धनका लागी युवालाई सीप र सीपलाई रोजगारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ । गाउँपालिकामा मनोसामाजिक परामर्शकर्ता राख्ने, पालिकाको भगौलिक अवस्थालाई मध्यनजर गर्दै स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य चौकीहरुमा आवश्यक जनशक्ति तथा उपकरणहरु राख्ने, शिक्षण सिकाईलाई समय सापेक्ष बनाउन पुर्नताजकी तालिम सञ्चालन गर्ने, योग गरौँ स्वस्थ्य रहौँ भन्ने नाराका साथ विद्यालय तहमै योग अभ्यास सञ्चालन गर्ने, विद्यालय अनुगमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउने, शैक्षिक गोष्ठी सञ्चालन गर्ने लगायतका विषयहरु नीतिमा समेटिएका छन् ।
गाउँपालिकाभरी पानी शुद्धता पहिचान गरी घर घरमा खानेपानी, लैगिंक समानता, छिटै गाउँपालिकाको प्रशासकीय भवनबाटै सेवा सूचारु गर्ने र प्रशासकीय भवनमै बैंकको शाखा काउन्टर स्थापना गर्ने, चौपातामा निर्माणाधीन १० शैय्याको आधारभूत अस्पताल अगामी आर्थिक वर्षसम्म निर्माण सम्पन्न गर्ने लगायतका विषय समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रमले प्राथमिकता दिएका क्षेत्रलाई समेटेर यही असार १० गतेभित्रै बजेट ल्याउने गरी तयारी भइरहेको लेकम गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा उद्घाटन भएको गाउँसभामा उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडाअध्यक्षहरू कार्यपालिका र गाउँसभा सदस्य, विषयगत शाखा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवाला नागरिकको सहभागीता रहेको थियो । गाउँपालिका अध्यक्ष जोशीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफलका साथै बजेटको समेत तयारी भइरहेको लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाले बताउनुभयो ।




