दार्चुला । दार्चुलामा लागूऔषध दुरुपयोग एवं ओसारपासरविरुद्धको अन्तर्राष्ट्रिय साताव्यापी अभियान भव्यताका साथ सम्पन्न भएको छ ।
‘स्वस्थ जीवनका लागि लागूपदार्थमुक्त समाज’ भन्ने मूल नाराका साथ असार ५ गतेदेखि शुरु भएको अभियान असार १२ गते (आज) प्रभातफेरी र र्याल सहित भव्यताका साथ सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले लागूपदार्थ विरुद्धको अभियान घर–घरबाटै थाल्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय तहले पनि विकास निर्माणसँगै चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै निरन्तरता दिनुपर्ने उहाको भनाइ छ । साताव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयले होटल व्यवसायी संघ, औषधि व्यवसायी लगायत सँग अन्तरक्रिया गरेको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले नगरपालिकाले प्रत्येक वर्ष विद्यालयस्तर तथा समुदायस्तरमा लागूपदार्थ विरुद्ध कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । लागूऔषध सप्ताहव्यापी कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमार्फत विद्यालय तह, सार्वजनिक स्थानमा लागूऔषधबारे कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना तथा सरोकारवाला निकायहरूको सहकार्यमा प्रभातफेरी र र्याली सञ्चालन गरिएको हो । र्यालीमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, महिला समूह, सञ्चारकर्मी स्थानीय लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।





प्रतिक्रिया