जननेता मदन भण्डारीको जन्मजयन्ती दार्चुलामा पनि मनाइयो, जिल्ला अस्पतालमा गरियो कार्यक्रम

दार्चुला । नेकपा (एमाले) का तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको शनिबार (आज) ७४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी दार्चुलामा पनि मनाइएको छ । नेकपा एमाले पार्टी र सम्बद्ध संघसंगठनले विभिन्न कार्यक्रम गरी देशभरि जन्मजयन्ती मनाएका छन् । दार्चुलामा पनि मदन भण्डारी फाउन्डेसन जिल्ला कमिटीले वृक्षारोपण, फलफूल र शैक्षिक सामग्री वितरण लगायत कार्यक्रम गरी जन्मजयन्ती मनाएको छ।

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा जिल्ला अस्पताल दार्चुलाका बिरामीलाई फलफूल वितरण, जिल्ला अस्पताल परिसरमा वृक्षारोपण र महेन्द्र नमुना माविका टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको मदन भण्डारी फाउन्डेसन दार्चुलाका सचिव खेमराज जोशीले बताउनुभयो । फाउन्डेसनका जिल्ला अध्यक्ष खिमानन्द भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सचिवालय सदस्य प्रेमसिंह धामीको प्रमुख आतिथ्यता, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री बिष्टको विशिष्ट आतिथ्यता रहेको थियो । एमाले प्रदेश कमिटी सदस्य गौरी बडाल, जिल्ला र पालिका कमिटीका नेताहरू, विभिन्न संघ संगठनका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, जिल्ला अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मी लगायतको आतिथ्यता तथा सहभागीता रहेको थियो ।

भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सभागृह काठमाडौंमा ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवम् श्रीमती विद्यादेवी भण्डारीले सम्बोधन गर्नुभएको छ ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका  रुपमा मदन भण्डारीको जन्म भएको थियो । वि.सं २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । भण्डारी त्यसबेला ४१ वर्षका उमेरका मात्रै थिए । उनी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए । सोही कारण उनलाई जननेता मान्ने गरिएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । मदन भण्डारीका नाममा फाउन्डेसनदेखि, प्रतिष्ठान, केन्द्र, कलेजलगायत सञ्चालन छन्। दार्चुलामा पनि जन्मजयन्तीमा विभिन्न कार्यक्रम गरि जननेता भण्डारीलाई स्मरण गरिएको एमाले प्रदेश कमिटी सचिवालय सदस्य प्रेमसिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?