दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरण सहित भ्रष्टाचारविरुद्ध सदनसँगै सडक आन्दोलन गर्ने भएको छ ।
रुपन्देहीको भैरहवामा आज दिउसो बसेको संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्यो सँग सम्बन्धित भ्रष्टाचार र बेतिथिविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सदनसँगै सडकसम्म पुराएर फराकिलो बनाउने निर्णय भएको बताउनुभयो।
भूमिसम्बन्धी विधेयक, निजामती विधेयक लगायतमा सरकारले सार्वभौम संसद्लाई नै आक्रमण गरेको संददीय दलको वैठकले ठहर गरेको र यसविरुद्ध समितिमा सशक्त भएर आवाज उठाउन संसदीय दलले निर्देशन गरेको परियारले जानकारी दिनुभयो ।
यस्तै, सर्वोच्च अदालतले प्रवासी नेपालीहरुलाई चुनावमा मताधिकार दिने व्यवस्था गरेकोमा त्यसको कार्यान्वनको लागि सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको परियारले बताउनुभयो ।
त्यस्तै, गौतमबुद्ध विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुँदा रुपन्देहीको पर्यटन व्यवसायमा परेको असर, खडेरीले किसानलाई परेको मर्का, प्रवासी नेपालीलाई रास्वपासँग जोड्ने पार्टीका सांसदको भूमिका, लगायत विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
रास्वपा नेता र सांसदहरू रुपन्देहीमा पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुने र रुपन्देही ३ को आसन्न उपनिर्वाचनका विषयमा समेत स्थानीय पार्टी नेताहरूसँग छलफल गर्ने छन् ।
रास्वपा नेता र सांसदहरू भोलिसम्म रुपन्देहीमा रहने र भोलि सांझ काठमाडौं फर्कनेछन् । रुपन्देही आगमनका क्रममा पार्टी उपसभापति डीपी अर्याल र सोविता गौतमले सहकारी ठगी प्रकरणमा थुनामा रहेका पार्टी सभापति रवि लामिछानेलाई छुट्टाछुट्टै भेट गरेका छन् ।





प्रतिक्रिया