एमाले देशको मुख्य कम्युनिस्ट केन्द्र थियो, विभाजन गर्नु ठूलो गल्ती थियोः झलनाथ खनाल

दार्चुला। नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले देशकै ठूलो कम्युनिस्ट शक्ति भएकोले त्यसलाई विभाजन गर्नु र छाड्नु आफैँमा गल्ती भएको स्वीकार गर्नुभएको छ । उहाँले पार्टी विभाजन गरेर नयाँ दल बनाउने निर्णयप्रति पश्चात्ताप व्यक्त गर्नुभएको हो।

एक टेलिभिजन अन्तरवार्तामा बोल्दै खनालले भन्नुभयो, ‘म त अब के भन्न थालेको छु भने जतिबेला पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु।’

उहाँले नेकपा एमालेलाई नेपालको कम्युनिस्ट आन्दोलनको एक सशक्त संस्था भनेर चिनाउँदै त्यसलाई छाड्नु गम्भीर भूल भएको बताउनुभयो।

‘नेकपा एमाले भनेको एउटा संस्था हो, जुन हामीले कम्युनिस्ट आन्दोलनको राम्रो संस्थाका रूपमा बनाएका थियौँ,’ उहाँले भने, ‘त्यो संस्थालाई त्यति बेला छाड्ने, विद्रोह गर्ने कुरा गलत थियो ।’

कहिलेकाहीँ लाग्दैन कि व्यर्थै नेकपा एमाले छाडेर नेकपा एसमा आएँ भन्ने पत्रकारको प्रश्नमा, नेता खनालले ‘लाग्न त सुरु भएको छ । जतिबेला यो पार्टी विद्रोह गरियो, त्यो नै गलत रहेछ भन्ने महसुस हुँदै छ’ भन्ने जफाव दिनुभयो।

एमालेमा गरिएको विद्रोह पुष्टि हुन नसकेको उल्लेख गर्दै उहाँले त्यसलाई नै गल्तीको प्रमाणको रूपमा मान्नुभयो।

‘पुष्टि नहुनुको अर्थ के हो भने, गलत गरियो,” उहाँले भन्नुभयो, “गलत गरिएछ त्यति बेला ।’

केपी ओलीको व्यक्तिगत विरोधका कारण एमाले नछाडेको बताउँदै खनालले भन्नुभयो, ‘म कुनै व्यक्ति विशेषलाई मान्दिनँ । संस्थागत हैसियतमा एमाले एउटा बलियो संस्था थियो । त्यस्तो संस्थालाई त्यति बेला छाड्नु, विद्रोह गर्नु सही थिएन ।’

खनालले पछिल्लो समय राजनीतिक पुनर्मूल्यांकन गर्दै पूर्व निर्णयबारे खुलेर आत्मालोचना गर्नुभएको छ, जुन नेपाली वाम राजनीति र नेकपा (एस) को भविष्यका सन्दर्भमा महत्त्वपूर्ण मोडको संकेत मानिएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा दायर भएपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने खालको धारणा सार्वजनिक गर्नुभएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?