दार्चुला । ‘समयमै कार्ययोजना नविकरण गरौ, सामुदायिक वनलाई गतिशील बनाऔँ’ भन्ने मुल नारासहित सामुदायिक वन दिवस दार्चुलामा पनि मनाइएको छ। जिल्लामा डिभिजन वन कार्यालय दार्चुलाको अगुवाईमा बृक्षारोपण गरि दिवस मनाइएको डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीदत्त जोशीले बताउनुभयो ।
दार्चुलामा १ सय ८४ वटा सामुदायिक वन रहेका छन् । ति मध्ये हाल ४१ वटा सामुदायिक वनको मात्रै नविकरण भएको छ। जिल्ला भरि रहेका १४३ सामुदायिक वनका समिति बर्षौ देखि नविकरण भएका छैन्न ।
न्यून बजेट, सिमित कार्यक्रम, स्वयम उपभोक्ता समितिको उदासिनता लगायतका कारण जिल्लाका १ सय ४३ वटा सामुदायिक वन बर्षौ देखि नविकरण भएका छैन्न ।
यस्तै सामुदायिक वनबाट वनजन्य पदार्थ चोरी तस्करी तथा वन जङ्गल जथाभावी फँडानी गर्ने गरेका कारण सामुदायिक वन अतिक्रमणको चपेटामा पर्न थालेका छन् । जिल्लामा मानिसको बस्ती नजिक भएका सामुदायिक वनको भू-भाग अतिक्रमणको चपेटामा रहेको छ ।
सामुदायिक वनसँग सिमाना जोडिएका गाउँका स्थानीयले वन फँडानी गरी सामुदायिक वनको कतिपय क्षेत्र अतिक्रमण गरेका छन् । तर डिभिजन वन कार्यालय दार्चुलासँग भने सामुदायिक वनको अतिक्रमण भएको यकिन तथ्याङ्क छैन ।
जिल्लाभर २१ हजार २४ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको छ । यो मध्ये धेरैजसो सामुदायिक वनको सिमाना मानिसको बस्तीसँग जोडिएको छ ।
सामुदायिक वन अतिक्रमणसँगै वन जङ्गलमा बसोबास गर्ने जीवजन्तुसमेत लोप हुन थालेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको कौलासैन सामुदायिक वनका अध्यक्ष गणेश सिंह धामीले बताउनुभयो । केही वर्ष पहिला सम्म सामुदायिक वनमा बसोबास गर्ने कालिज, चित्तल , चितुवा, घोरल, जरायो, रतुवा लगायतका जीवजन्तुले बासस्थान छोड्न थालेको उहाँले बताउनुभयो ।
सामुदायिक वन भू–भाग अतिक्रमण गरेको र चोरी सिकारी, फँडानी गरेको जानकारी पाइएमा कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीदत्त जोशीले बताउनुभयो । यसका साथै सामुदायिक वन संरक्षणमा पनि विभिन्न चुनौतीहरु रहेको उहाँले बताउनुभयो ।
वन डडेलो, अतिक्रमण, मिचाहा प्रवृती, सामुदायिक वनबाट आयआर्जन नहुनु, सामुदायिक वन समुह निष्कृय हुनु लगायतका कारण पनि सामुदायिक वन संरक्षणमा चुनौती भइरहेको छ।
सामुदायिक वनको व्यवस्थापन र सदुपयोगबाट प्राकृतिक श्रोतमा आधारित गरिब, दलित, जनजाती र सीमान्तकृत समुदायको आयआर्जनमा समेत टेवा पुर्याउने उदेश्य रहेको भए पनि उदेश्य अनुरुप सामुदायिक वनबाट स्थानीय उपभोक्ताले लाभ लिन नसक्दा सामुदायिक वन संरक्षणमा उपभोक्ता र समुह समितिले चासो नदेखाएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया