दार्चुला । दार्चुलासहित सुदूरपश्चिममा आज बुढी हाल्ने र ओल्के पर्व मनाइदैछ। हरेक वर्ष भदौँ १ गतेका दिन बुढी हाल्ने परम्परा छ । नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने कार्यलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ। यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने जनविश्वास रहिआएको छ ।
यस्तै काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक रुपमा मनाउने चलन परापुर्व कालदेखि चलिआएको स्थानीय सस्कृतिका जानकारहरु बताउछन । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा दार्चुला, बैतडी सहित सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ।
ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। ओल्के र बुढी हाल्ने पर्वको धार्मिक मान्यता पनि रहेको छ । असत्यमाथि सत्यको विजयउत्सबको रूपमा बुढी हाल्ने र पोल्ने गरिन्छ ।
सुदूरपश्चिम प्रदेशमा आइतबार (आज) सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले ओल्के पर्वको अवसरमा प्रदेशभर आइतबार सार्वजनिक बिदा दिएको प्रदेश राजपत्रमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिमका पहाडी समुदायले भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई जेठो पर्वको रुपमा मनाउने गरिएको छ । ओल्के पर्वपछि अरु चाडपर्व शुरु हुने गर्दछन् । भदौँमा गौरा पर्व र असोज/कार्तिकमा दशैँसहित जात्राहरू धुमधामसाथ मनाइन्छ ।





प्रतिक्रिया