दार्चुला । सडकमाथिबाट पहिरो आएपछि जिल्लाको मुख्य सडकमार्ग अवरुद्ध भएको छ । आइतबार रातीको बर्षाको कारण मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा सडक माथिबाट पहिरो खस्दा माहाकाली लोकमार्गको दार्चुला–गोकुेलेश्वर सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
अवरुद्ध सडक सञ्चालनको लागि जेसिबी लगाएर पहिरो पन्छ्याउने काम भईरहेको उहाँले बताउनुभयो । सडकमार्ग अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने तथा जिल्ला भित्रने लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।
पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ जाने बस बाटोमा नै रोकिएका छन् ।
उक्त क्षेत्रमा पटकपटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ ।





प्रतिक्रिया