दार्चुला । सडकमाथिबाट पहिरो आएपछि महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर-खलंगा सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातीको बर्षाको कारण मालिकार्जुन गाउँपालिका-३ तेर्छालेकमा सडक माथिबाट पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
तेर्छालेकमा आइतबार राति पहिरो खस्दा सोमबार विहान समेत सडक अवरुद्ध भएको थियो । सोमबार पहिरो पन्छाएर सडक सञ्चालन भएपनि गयरातिको बर्षाले फेरि सडक अवरुद्ध भएको बताइएको छ । अवरुद्ध सडक सञ्चालनको लागि जेसिबी लगाएर पहिरो पन्छ्याउने तयारी भइरहेको छ।
सडकमार्ग अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने तथा जिल्ला भित्रने लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँका लागि छुटेका बस बाटोमा नै रोकिएका छन् । छोटो दूरीका सवारीसाधनसमेत नियमित सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ । उक्त क्षेत्रमा पटकपटक पहिरो खस्ने गरेको छ ।





प्रतिक्रिया