दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विहिबार (आज) विहान ८ः३० बजेको समयमा नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा भएको जिप दुर्घटना परि गम्भीर घाइते हुनुभएकी नौगाड गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा १ बजेको समयमा गम्भीर घाइते टमटाको ज्यान गएको उहाँले बताउनुभयो । घाइते १० जना मध्ये ४ जनालाई थप उपचारको लागी कैलाली रेफर गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी सहायक निरीक्षक गोपाल द्धालले बताउनुभयो । दुर्घटनामा परि घाइते भएका १४ बर्षीया कान्छी महता, ७० बर्षीय गम्भु महता, ३३ बर्षीय उमेश ठगुन्ना र १९ बर्षीया लक्ष्मी कार्कीलाई थप उपचारको लागी रेफर गरिएको उहाँले बताउनुभयो ।
नौगाडको होपरीबाट होपरीगाडतर्फ गइरहेको लाकेन्द्र सिह ठगुन्नाले चलाएको ग. ३ च. ३३५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार ११ जना सबै घाइते भएका थिए । घाइते मध्ये चार जना गम्भीर रहेकोमा गर्भवती महिला टमटाको मृत्यु भइसकेको र बाँकी तीन जना खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसैबिच घटनाबारे राजनीतिक दलका नेता, जनप्रतिनिधिसहित जिल्लाबासीले दुःख व्यक्त गरेका छन् । शैल्यशिखर नगरपालिका उपप्रमुख शान्ति खडायत, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, नौगाड गाउँपालिका पूर्वअध्यक्ष तथा एमाले नेता प्रेमसिंह धामी लगायतले अस्पताल पुगेर घाइतेहरुसंग भेटघाट गरि सान्वना दिएका छन् । घटनापछि मृतकको परिवार शोकमा डुबेको छ ।





प्रतिक्रिया