दार्चुला । पश्चिम तराइका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । यो उनीहरुको महत्त्वपूर्ण पर्व हो । अस्ति शुक्रवार राति दर खाएर हिजो दिनभरि व्रत बस्ने र बेलुका रोटी पकाएर देवतालाई चढाइसकेपछि खाने तथा आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन थारु समुदायमा छ ।
दाङको घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन छ । उहाँका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ ।
यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।
थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउनुहुन्छ । यसैबीच सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा थारू समुदायको बसोबास रहेको छ ।





प्रतिक्रिया