दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट दुई दिन पहिले उद्धार गरिएकी महिलालाई जिम्मा लिने आफन्त वा अभिभावक सम्पर्कमा नआएपछि मानव सेवा आश्रम धनगढी पठाइएको छ । इप्रका गोकुलेश्वरका प्रहरी निरीक्षक किशोरसिंह ऐरी, प्रहरी सहायक निरीक्षक गोपाल द्वालसहित प्रहरी प्रशासन र राष्ट्रिय युवा संघ दार्चुलाका अध्यक्ष मुकेश पाल, बजार व्यवस्थापन समिति अध्यक्ष इश्वर पाण्डे, समाजसेवी, व्यवसायीहरू लगायतको अग्रसरतामा मानसिक सन्तुलन गुमाएकी बेवारिसे अवस्थामा फेला परेकी अन्दानी २७–२८ वर्षकी महिलालाई हेरचाह, उपचार र सुरक्षाका लागि मानव सेवा आश्रम पठाइएको बताइएको छ ।
दुई दिन पहिले प्रहरी प्रशासनको सहयोगमा बेवारिसे अवस्थामा फेला परेकी महिलाको उद्धार गरिएको थियो, राष्ट्रिय युवा संघ दार्चुलाका अध्यक्ष मुकेश पालले भन्नुभयो, जिम्मा लिने मान्छे नआएपछि आइतबार (आज) मानव सेवा आश्रम धनगढी लगेर जादैछौँ । शैल्यशिखर नगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतबहादुर खडायतले एम्बुलेन्स उपलब्ध गराएको तथा गोकुलेश्वर बजार व्यवस्थापन समिति र व्यवसायीबाट आर्थिक सहयोग संकलन गरेर मानब सेवा आश्रम धनगढी लगिएको उहाँले बताउनुभयो । समाजसेवी पाल, दुई जना महिला प्रहरी निर्मला भट्ट र जानकी बादी सहित एम्बुलेन्समा उद्धार गरिएकी महिलालाई धनगढी लगिएको छ ।
बेवारिसे महिलाले बजारमा अस्वभाविक गतिविधि गर्न थालेपछि व्यवसायीहरूले मिलेर २८ हजार ४५२ रूपैयाँ आर्थिक सहयोग संकलन गर्नुका साथै प्रहरी प्रशासनको समन्वय तथा सहजीकरण र युवा मुकेश पालले यातायात व्यवस्थापन गरेर मानव सेवा आश्रम पठाइएको व्यवसायी सुरेश भण्डारीले बताउनुभयो ।
दुई महिना पहिले देखी गोकुलेश्वर बजार क्षेत्रमा घुमिरहेकी महिलाले शरीरका लुगा फालेर नाङ्गै हिड्ने, मानिसहरूलाई ढुंगा हान्ने जस्ता अस्वभाविक गतिविधि गर्न थालेपछि उद्धार गरिएको प्रहरी सहायक निरीक्षक गोपाल द्वालले बताउनुभयो । केही दिन पहिले मात्रै ढुंगा प्रहार गरेर एउटा बच्चाको टाउको फुटाइदियो, बच्चाका आफन्त न्यायका लागि प्रहरी चौकी आए तर जिम्मेवारी लिने मान्छे नभएपछि समस्या भयो । बजार क्षेत्रमा अस्वभाविक गतिविधि गर्ने र कपडा फालेर नाङ्गै हिड्न थालेपछि महिला प्रहरी बिन्दु कुमारी साउँदले कपडा लगाइदिएर शुक्रबार उद्धार गरिएको द्वालले बताउनुभयो ।
उद्धार गरिएकी महिलाका आफन्त कोही सम्पर्कमा नआएपछि बजार व्यवस्थापन समिति, व्यवसायी, युवा समाजसेवी, जनप्रतिनिधि र अन्य सहयोगीको सहयोगमा मानव सेवा आश्रम धनगढी पठाइएको प्रहरीले जनाएको छ ।




