दार्चुला । नेकपा (एमाले) दार्चुलाले अतिक्रमित नेपाली भूमि लिपुलेकमा भारत र चीनबीच भएको व्यापार सम्झौता नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथिको गम्भीर प्रहार रहेको भन्दै आपत्ति जनाएको छ । यस घटनाप्रति नेकपा (एमाले) दार्चुलाको भदौ ७ र ८ गते दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको बैठकबाट गहिरो आपत्ति र कडा विरोध जनाउदै निर्णय यथाशीघ्र सच्याउन माग गरिएको छ । साथै अतिक्रमित नेपाली भूमि फिर्ताका लागि तत्काल कूटनीतिक पहल गर्न तथा नेपालको अधिकार र स्वाभिमान जोगाउन ठोस कदम चाल्नका लागि नेपाल सरकार र पार्टी केन्द्रसंग अनुरोध गर्ने निर्णय गरिएको छ ।
जिल्ला कमिटी बैठकमा केन्द्रीय कमिटीद्वारा प्रस्तावित विधान उपर छलफल भइ लिखित र मौखिक सुझावहरू प्राप्त भएको र प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरिएको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले बताउनुभयो । साथै स्थानीय तहमा देखिएको असन्तुष्टि समाधान गर्न कार्यदल गठन गर्ने, जिम्मेवारीविहिन रहेका नेताहरूलाई उपयुक्त जिम्मेवारी दिन केन्द्र र प्रदेश कमिटीलाई सिफारिस गर्ने, लेबी नतिरेका जनप्रतिनिधि र सदस्यलाई एक महिना भित्र अनिवार्य लेबी तिर्न निर्देशन दिने लगायत विभिन्न निर्णय गरिएको उहाँले बताउनुभयो ।
एमाले जिल्ला कमिटी दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता तथा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य गणेशसिंह धामी, प्रदेश कमिटी सचिवालय र सदस्यहरू, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य लगायतको आतिथ्यता र उपस्थिति रहेको थियो। भदौ ७ गते अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको एमाले दार्चुलाले ८ गते आइतबार जिल्ला कमिटी बैठक सम्पन्न गरेको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।





प्रतिक्रिया