दार्चुला । नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ लास्कु खोला क्षेत्रमा नदी कटानको जोखिममा रहेको बस्तीको स्थलगत अनुगमन गर्नुभएको छ।
दुई दिनअघि लास्कुमा रहेको दशरथनगर आधारभूत विद्यालय भवनको घेरपर्खाल भत्किएपछि बस्ती नै जोखिममा परेको छ । विद्यालयको पूरै घेरपर्खाल भत्किदा लास्कु क्षेत्रका तीन घरमा क्षति समेत पुगेको छ । पहिरो गएपछी अहिले परिवार विस्थापित हुने अवस्था आएको छ, स्थानीय बीरसिह धामीले भन्नुभयो ।
पहिरोले गाउँ विस्थापित हुने अवस्थामा पुगेको स्थानीय रेखा लुहारले बताउनुभयो । माथि पहिरो छ, घर तलबाट लास्कुखोलाले कटान गरिरहेको छ । राति निद्रा लाग्नै छोडेको उहाँले भन्नुभयो । बाढी तथा पहिरोको जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको स्थानीयहरुले बताएका छन् ।
लास्कु क्षेत्रका तीन परिवारलाई अन्यत्र राख्नुपर्ने अवस्था आएको वडा नम्बर १ का वडा अध्यक्ष मोहन सिंह महराले बताउनुभयो । अहिले तत्काललाई वडाले व्यवस्थापन गर्ने गरि तयारी भएको उहाँले बताउनुभयो ।
पहिरो क्षेत्रको निरीक्षण गर्दै पूर्वमन्त्री ठगुन्नाले पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि स्थानीय सरकार र प्रशासन मार्फत पहल गर्ने बताउनुभयो । अनुगमन निरीक्षणमा नेकपा एमाले केन्द्रीय सदस्य हरदेव जोशी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, पार्टी जिल्ला सचिव उमेश जोशी लगायतको सहभागीता रहेको थियो ।





प्रतिक्रिया