दार्चुलामा डिआईजीस्तरीय नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

दार्चुला । नेपाल–भारतका सुरक्षाकर्मीबीचको डिआईजीस्तरीय सीमा समन्वयात्मक बैठक सोमबार दार्चुलामा सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीको आयोजनामा दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको बैठकमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र सशस्त्र प्रहरी बल, नेपालका डिआईजीस्तरका अधिकारीको सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण मुख्यालय दार्चुलाका गणपति एसपी देवराज जोशीका अनुसार बैठकमा दुवै पक्षले सीमा क्षेत्रको विद्यमान सुरक्षा परिस्थिति, सम्भावित जोखिम र आ–आफ्ना जिम्मेवारीबारे समीक्षा गरेका थिए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी–तस्करी, लागूऔषध ओसार–पसार, मानव बेचबिखन तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मीले सघन सहकार्य गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

त्यसैगरी, बैठकमा सीमा क्षेत्रमा देखिन सक्ने आपराधिक गतिविधि सम्बन्धी सूचनाको प्रभावकारी आदान–प्रदान गर्ने, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिक गरी मर्मत, संरक्षण तथा पुनःस्थापना कार्य अघि बढाउन सम्बन्धित निकायलाई प्रतिवेदन गर्ने, साथै सीमा क्षेत्रमा आवतजावतलाई सहज र मैत्रीपूर्ण बनाउन पहल गर्ने विषयमा सहमति भएको उहाँले बताउनुभयो।

दुवै पक्षले नियमित सम्पर्क कायम गर्ने, समय–समयमा समन्वयात्मक बैठकलाई निरन्तरता दिने र नेपाल–भारत सीमा क्षेत्रमा शान्ति, सुरक्षा तथा सौहार्दपूर्ण वातावरण कायम राख्न आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालसहित कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, डडेल्धुरा र छाङरू (दार्चुला) का सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो। भारततर्फबाट अल्मोडाका डिआईजी सुधाम्सु नौटियाल र पिलिभितका डिआईजी अनिलकुमार शर्मा सहित १० सदस्यीय टोलीको उपस्थिति रहेको गणपति जोशीले जानकारी दिनुभयो। सशस्त्र र एसएसबी दुबै सुरक्षा निकायले दार्चुलाको मालिकार्जुन धामको दर्शनका साथै पुजाआजा समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?