दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ मा अटो दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये २ जनाको शव फेला परेको छ ।
आज दिउँसो नौगाडको होपरीगाडबाट मसिनातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटो नौगाड गाउँपालिका वडा नम्बर ५ को सौकेबगर भिरबाट नौगाड खोलामा खस्दा नौगाड गाउँपालिका वडा नम्बर ६ डाडाकी १२ वर्षीया आरुसी धामी, ४७ वर्षीया चाखुरी देवी धामी र १८ वर्षीया भागा धामी नौगाड खोलामा बेपत्ता भएका थिए ।
बेपत्ता भएका मध्ये ११ वर्षीया अरुसी धामी र १८ वर्षीया भागा धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
बेपत्ता चाखुरी धामीको खोजी कार्य जारी रहेको पनि उहाँले बताउनुभयो ।
सोमबार दिउँसो साढे १ बजेको समयमा सौकेबगड नजिकको भिरबाट अटो नौगाड खोलामा खसेको थियो । खोलामा खसेको अटो नदीले करिब १ किलोमिटर सम्म बगाएको अवस्थामा फेला परेको छ । अटोमा चालकसहित ५ जना सवार रहेको र ति मध्ये चालक ३६ वर्षीय मनिराम भुल सकुसल रहेको तथा चालक भुलका छोरा १७ वर्षीय आयुष भुलको दाहिने हात भाचिएको प्रहरी निरीक्षक रावतले बताउनुभयो ।
अटो चालक भुललाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।





प्रतिक्रिया