दार्चुला । भदौ २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनमा महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तमसिंह थापाको क्रुर हत्या भयो । आन्दोलनकारीले प्रहरीको बिट जलाएर जवान थापालाई डिएसपी भन्दै क्रूर रूपमा कुटीकुटी हत्या गरे । राष्ट्रसेवामा रहेका छोरा गुमेसँगै उनकी वृद्धा आमा निर्मलादेवी थापाले सहारा नै गुमाएर विक्षिप्त हुनुहुन्छ । उत्तमको मृत्युपछि आमा र श्रीमतीको सहारा गुमेको छ भने सिंगो परिवार विक्षिप्त बनेको आफन्त समेत रहनुभएका लेकम-३ का वडाअध्यक्ष सुरेशसिंह थापाले बताउनुभयो।
दार्चुलाको लेकम गाउँपालिका–३ लाली घुमखोलीकी निर्मलाले ११ वर्षअघि श्रीमान् हरिसिंह थापा गुमाउनुभयो। श्रीमान् बितेपछि दुई छोराको सहारामा बाँचेकी निर्मलाकोे जीवनमा दशकभित्रै ठुलो बज्रपात परेको छ । गत वर्ष २१ मंसिर २०८१ मा कान्छा छोरा महेश थापा गुमाएकी निर्मलाले एक वर्ष नपुग्दै जेठो छोरो उत्तम पनि गुमाउनुभएको हो । कान्छो छोरो गुमाएको नौ महिनामै जेठो छोरा उत्तमको आसमा बाँचेकी निर्मलाको सहारा जेन–जी आन्दोलनले लुटेको छ । महेशको महाकाली नदीमा धार्मिक काम सकेर घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो । कान्छो छोरा गुमे पनि राष्ट्रसेवामा रहेका जेठो छोराको सहारामा बाँचेकी निर्मला यतिवेला घरका तीन सदस्य गुमेपछि विक्षिप्त अवस्थामा पुग्नुभएको छ।
गाउँमै रहेको कृष्ण माध्यमिक विद्यालयबाट १२ उत्तीर्ण गरेपछि उत्तमलाई प्रहरीमै कार्यरत उहाँका कान्छाबाबु रूपसिंह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा काममा लगाउनुभएको थियो । तीनपटककोे प्रयासमा २०७३ मा प्रहरी जवान भर्ना भएका थापाले आधारभूत तालिम सकेपछि प्रदेश प्रहरी गुल्म धनगढीमा पोस्टिङ भएको थियो । प्रहरी जवान थापाका काका रूपसिंहले लामो समय धनगढीमा कार्यरत भतिजाको ६ महिनाअघि मात्रै काठमाडौंमा सरुवा भएको बताउनुभयो।
दाजुको देहान्त भएपछि म र मेरो जेठोदाजु तेजसिंह थापाले उत्तम र महेशलाई हेरचाह गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘कान्छो भतिजालाई नौ महिनाअघि गुमायौँ, अहिले जेठो भतिजो पनि गुमाएका छौँ । हाम्रो परिवारमा निरन्तर ब्रजपात भएको छ ।’ दुई वर्षअघि प्रहरी नायब निरीक्षक (सइ) बाट सेवा निवृत्त भएका रूपसिंहले उत्तमलाई डिएसपी भन्दै अमानवीय रूपमा कुटीकुटी प्राण लिएका फोटो, भिडियो सार्वजनिक भएको बताउँदै यस्तो निकृष्ट अमानवीय काममा संलग्नमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिन अपिल गर्नुभएको छ।
मृतक थापाका अर्का काका तेजसिंह थापाले उत्तमले ६ वर्षअघि मात्रै जोगबुढाकी पुष्पा भट्टराईसँग प्रेमविवाह गरेको बताउनुभयो । ‘भतिजा उत्तमको जागिर धनगढी थियो, बुहारी पनि त्यहीँ बस्थिन्, ६ महिनाअघि मात्रै उनको काठमाडौं सरुवा भएको थियो । दाजु र अर्का भतिजा गुमेपछि भाउजुको सुखसयलमा राख्छु भन्थ्यो, त्यही भएर धनगढीमा १० धुर जमिन पनि किनेको थियो, तर उत्तमको सपना जेन–जी आन्दोलनले अधुरै रह्यो,’ भावुक हुँदै उहाँले भन्नुभयो।
शिक्षकबाट सेवानिवृत्त भएका तेजसिंहले कान्छा भतिजाको देहान्तसँगै उनकी श्रीमती अस्मिता बोहराले पनि घर छाडेर हिँडेको बताउनुभयो। ‘यतिवेला हामी घरपरिवार विक्षिप्त भएका छौँ, अझ ठुलो पीडा भाउजु निर्मलामा परेको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो परिवारमा परेको यो अपूरणीय क्षतिको कुनै सीमा नै छैन ।’ राष्ट्रसेवामा खटिएकै क्रममा अमानवीय रूपमा क्रुर हत्या भएको बताउँदै उहाँले अब उत्तमकोे सहारामा बाँचेकी धर्मपत्नी पुष्पालाई राष्ट्रसेवा गर्न सरकारले मौका दिनुपर्ने बताउनुभयो।
उत्तमको आइतबार पशुपतिमै अन्त्येष्टि गरिएको छ । घरपरिवारको दार्चुलास्थित महाकाली नदीमा अन्त्येष्टि गर्ने चाहना भए पनि परिस्थितिले उतै अन्त्येष्टि गरिएको हो । दाहसंस्कारमा उत्तमका काका ईश्वर थापा, काकाका छोरा अमिस थापासहितका आफन्त उपस्थित थिए । उत्तमकी आमा निर्मला, उनकी पत्नी पुष्पासहित थापा परिवारले मुखै हेर्न नपाई उत्तमको अन्त्येष्टि गरिएको हो। अहिले सहिद उत्तमकी आमा निर्मलादेवी गाउँकै घरमा विक्षिप्त अवस्थामा हुनुहुन्छ भने श्रीमती पुष्पा तराईमा विक्षिप्त अवस्थामा रहेको वडाअध्यक्ष थापाले बताउनुभयो।




