दार्चुला । बडादशैँको अवसरमा दार्चुला तथा बैतडीसहित देशभरका विभिन्न मन्दीर तथा शक्तिपिठहरुमा लागेको जात्रा सम्पन्न भएको छ । महाअष्टमी देखि यस क्षेत्रका विभन्न मन्दीरहरुमा दिउँसो र रात्री जात्रा लाग्ने गर्दछन ।
दार्चुलामा महानवमीको दिन लेकम गाउँपालिका वडा नम्बर ६ मा रहेको हुनैनाथ भैरवनाथ मन्दिर सिरोडामा रात्री जात्रा लागेको थियो । त्यस्तै दशमीको दिन मालिकार्जुन गजाउँपालिका वडा नम्बर ४ मा रहेको हुनैनाथ मन्दीर औतालेक र लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐडिबाग मन्दिर मैखोली पाटामा जात्रा सम्पन्न भएको छ ।
ऐडिबाग मन्दिरमा विजयादशमीको दिन दिनभरी पुजन जात्रा लगाएर मध्यराती समापन गरिएको मन्दिरका भण्डारी राधापल्लब जोशीले बताउनुभयो । मन्दिरमा पुजाआजा सहित, टीका प्रसाद ग्रहण र वितरण गर्ने, डेउडा खेल्ने, दामाहा लगायत बाजागाजा बजाउने गतिविधिसहित सुरक्षित र मर्यादित ढंगले भव्यताका साथ जात्रा सम्पन्न भएको उहाँले बताउनुभयो ।
बडादशैंको टीका थाप्नुका साथै गाउँलेहरु भेला भएर एकता र उत्सवका रुपमा जात्रा मनाएका हुन् । विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद लिने गर्छन्न । साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तकहाँ पुग्ने गर्दछन् । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठुलाहरूको हातबाट थापेर आशिर्वाद लिने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।
गाउँघर बाहिर रहेकाहरु समेत गाउँमा फर्किएकोले दशैं जात्रामा भेटघाट र सुखदुख साटासाटको अवसर समेत जुट्ने गर्दछ । असत्य माथि सत्यको विजयउत्सबका रुपमा यो वर्षको दशैं पनि आम नेपालीजनले मनाएका छ ।





प्रतिक्रिया