दार्चुला । दार्चुलाको गोकुलेश्वरमा विहिबार (हिजो) बाट सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ७ सय बढी सेवाग्राहीले आँखा जाँच, परामर्श, उपचार र शल्यक्रिया सेवा पाएका छन्। जिल्लाका तीन ठाउँमा सञ्चालन हुने शिविर अन्तरगत गोकुलेश्वरमा शिविर जारी छ ।
शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माविको भवनमा जारी शिविरमा २ दिनको अवधिमा ७ सय बढीको आँखा परीक्षण गरिएको छ, जसमध्ये अधिकाशंलाई रु. १०० मा नजिकको लेख्नेपढ्ने चश्मा र निःशुल्क औषधी वितरण गरिएको छ । दुई दिनमा १०१ जनाको आँखाको शल्यक्रिया गरिएको नारायणी आँखा अस्पताल बिरगंजका फाउन्डर विशेषज्ञ डा. पदमराज बिष्टले बताउनुभयो।
नारायणी आँखा अस्पताल बिरगंज, नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल, आँखा अस्पताल महेन्द्रनगरको आयोजनामा दार्चुलाको तीन ठाउँमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ। नारायणी आँखा अस्पतालका फाउन्डर डा. पदम राज विष्टको नेतृत्वमा आएको टोलीले उपचार तथा शल्यक्रिया गरिरहेको छ। असोज २५ गते (भोली) सम्म शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित गोकुलेश्वर माविमा निःशुल्क आँखा शिविर सञ्चालन हुने छ । त्यस्तै असोज २६ र २७ गते लेकम गाउँपालिकाको वडा नम्बर ५ रिठाचौपातामा अवस्थित लटिनाथ मावि चौपातामा र असोज २९ र ३० गते मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुर पस्तीमा शिविर सञ्चालन हुने आँखा अस्पताल कञ्चनपुरका प्रमुख, नेत्र अधिकृत विरसिंह धामीले बताउनुभयो।
शिविरमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया (अप्रेसन) गरिने र निःशुल्क औषधी पनि वितरण गरिने छ । साथै नजिकको पढ्न लेख्न मिल्ने चस्मा १ सय रुपैयाँमा उपलब्ध गराइने छ। गाउँघरमै निःशुल्क शल्यक्रिया सेवा पाएपछि सेवाग्राही खुसी भएका छन् । आँखाको समस्या भएका बिरामीलाई नजिकको स्थानमा तोकिएको मितिमा उपस्थित भइ सेवाको मौका लिनुहुन अनुरोध गरिएको छ।





प्रतिक्रिया