दार्चुलाका महत्तपूर्ण आयोजनामा बजेट व्यवस्था गरी समयमै सम्पन्न गर्न माग

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र माओवादी केन्द्र दार्चुलाका युवा नेता नरबहादुर विष्टले जिल्लाका महत्तपूर्ण आयोजनामा बजेट व्यवस्था गरी समयमै सम्पन्न गर्न माग गर्नुभएको छ ।

शुक्रबार (हिजो) दार्चुलाबासीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात र उर्जा मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै, अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीसम्म जोड्ने सडक आयोजना निर्माण, दार्चुला–तिंकर सडक निर्माण, बिटुले–पारिबगर–मकरीगाड सडकखण्ड कालोपत्रे, महाकाली करिडोर लगायतका सडक खण्ड समयमै निर्माण सम्पन्न गर्न, धन्थलामा मोटरेबल पुल निर्माण गर्न र जिल्लाका विद्युतीकरण हुन बाँकी क्षेत्रमा विद्युतीकरणको काम छिटो सम्पन्न गर्न आग्रह गर्नुभएको हो ।

आर्थिक वर्ष २०७५/०७६ मै सरकारले प्रत्येक स्थानीय तहको केन्द्रसम्म सडक विस्तार गर्ने घोषणा गरिसकेको भए पनि अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म सडक ट्र्याक अझै खुल्न नसकेको स्मरण गराउँदै यसलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजनसहित निर्माण कार्य अघि बढाउन माग गरिएको अध्यक्ष बोहराले बताउनुभयो । यस्तै, २०६५/६६ सालतिर सुरु भएको दार्चुला–तिंकर सडक निर्माण अहिलेसम्म पूरा नभएको भन्दै पर्याप्त बजेट विनियोजन गरेर दुत्रगतिमा काम अघि बढाउन आग्रह गरिएको उहाँले बताउनुभयो । सडक अन्तरगत व्याँस गाउँपालिकाको सुन्सेरा–तिंकरसम्मको ४२ किलोमिटर ट्र्याक २०७६/७७ सालमै निर्माण भए पनि पछिल्लो समय पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणमा समस्या भएको मन्त्री घिसिङलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै ज्ञापन पत्रमा बिटुले–पारिबगर सडकखण्डको कालोपत्रे कार्य र महाकाली करिडोर अन्तर्गत लेकम गाउँपालिकाको धन्थला स्थित चमेलीया नदीमाथि पुल निर्माण कार्यमा समेत बजेट विनियोजन गरी निर्माण कार्य छिटो सम्पन्न गर्न आग्रह गरिएको छ । विद्युतीकरणका क्षेत्रमा जिल्लाका सबै घरधुरीमा राष्ट्रिय प्रसारणलाइन विस्तार गर्नुपर्ने र डोल्पा–दार्चुला विद्युतीकरण मार्फत विद्युतिकरणमा ढिलाई भइरहेकोले समयमै विद्युतिकरणको काम गर्न पहल गरिदिन आग्रह गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

भेटका क्रममा मन्त्री घिसिङलाई अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक आयोजना, दार्चुला–तिंकर सडक आयोजना, बिटुले–पारिबगर–मकरीगाड सडकखण्ड कालोपत्रे, महाकाली करिडोर अन्तरगत धन्थला पुलमा आवश्यक बजेट विनियोजन गरी छिटो निर्माण सम्पन्न गर्न र जिल्लाका विद्युतीकरण हुन बाँकी क्षेत्रमा विद्युतीकरण गर्न अनुरोध गरिएको माओवादी केन्द्र दार्चुलाका युवा नेता नरबहादुर विष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?