दार्चुला । दार्चुलाको लेकम क्षेत्रमा रात्री जात्राको रौनकता छाएको छ। विभिन्न शक्तिपीठमा लाग्ने जात्राहरूलाई व्यवस्थित, मर्यादित तथा सभ्य र भव्य ढंगले सञ्चालन गर्न आइतबार (आज) दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीयतहहरू र सरोकारवालाको उपस्थितिमा समन्वयात्मक बैठक बस्ने भएको छ।
मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाका अध्यक्ष÷प्रमुख एवम् प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखहरू र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा मालिकार्जुन मन्दिरमा आज दिउँसो १ बजे बैठक बस्ने भएकोले उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो। लेकम क्षेत्रका दर्जनौं शक्तिपीठमा कार्तिक महिनाको प्रतिपदादेखी पुर्णिामासम्म विभिन्न तिथिमा रात्री जात्रा लाग्ने गर्दछन । रात्री जात्रामा रातभरि पुजाआजासहित दामाहा बजाउने, झोडो, फाग गाउने, ठाडो खेल, देउडा खेल खेल्ने लगायत विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि गर्ने गरिन्छ।
अष्ठमी तिथिमा लाग्ने हुनैनाथ जात्रा, नवमी तिथिमा लाग्ने जयपुर जात्रा र चतुर्दशी तिथिमा लाग्ने मालिकार्जुन जात्रा हजारौं दर्शक र भक्तजनको सहभागीतामा भव्यताका साथ मनाउने गरिन्छ । विभिन्न तिथिमा गाउँगाउँका शक्तिपीठमा दर्जनौं जात्रा लाग्ने गर्दछन् । लेकम क्षेत्रमा लाग्ने रात्री जात्रालाई व्यवस्थित तथा मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरूबाट सुझाव माग गरि सुरक्षा योजना बनाइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । सयौं/हजारौं भक्तजन र दर्शकको उपस्थितिमा रात्री जात्रा लाग्ने भएकोले सुरक्षा व्यवस्थापन सम्बन्धि सरोकारवालाहरूको बैठक बस्न लागेको हो ।
भातृत्त, मौलिक परम्परा, संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी जात्राहरू सभ्य र मर्यादित ढंगले मनाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ।





प्रतिक्रिया