दार्चुलाकै प्रशिद्ध मालिकार्जुन जात्रा व्यवस्थापन गर्न सर्वपक्षित बैठक सम्पन्न (निर्णय र उपस्थिति)

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित मालिकार्जुन मन्दिर मडको जात्राको तयारी भइरहेको छ । उक्त जात्रामा दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको पिथौरागढबाट समेत गरी हजारौंको संख्यामा भक्तजन र दर्शकहरुको सहभागिता रहने गर्दछ ।

२०८२ सालको कार्तिक १८ गते चतुर्दशीका दिन श्री शैल्यशिखर मालिकार्जुन पुजन र रात्री जात्राको अवसरमा धार्मिक, सामाजिक र सांस्कृतिक महत्तलाई मध्यनजर गर्दै मालिकार्जुन मन्दिरमा आइतबार सर्वपक्षिय बैठक बसेको छ । जिल्ला सुरक्षा समितिले विशेष सुरक्षा तथा यातायात व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो । मालिकार्जुन धाममा लाग्ने रात्रीकालीन जात्राको दिन आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने, मदिरा र जुवातास जस्ता असामाजिक गतिविधि बन्द गर्ने, जात्राको दिन कात्तिक १८ गते राति १२ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाउने लगायत महत्तपूर्ण निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।

जात्राको शान्ति, सुरक्षा र धार्मिक मर्यादालाई थप सुदृढ बनाउन कार्तिक १२ गतेदेखि मालिकार्जुन गाउँपालिकाभरी र शैल्यशिखर, लेकम र महाकालीको सीमा नजिकको क्षेत्रका वडाहरुमा मदिरा ओसारपसार, बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । जात्रामा सुरक्षा, एम्बुलेन्स, यातायात लगायत विभिन्न व्यवस्थापन कार्यका लागि समेत आवश्यक निर्णय गरिएको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो ।
सुरक्षा व्यवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती रहने छ । जात्राको भीड व्यवस्थापन, दुर्घटना नियन्त्रण र आपतकालीन उद्धारका लागि विशेष टोलीहरू परिचालन गर्ने डिएसपी गौरव महतले बताउनुभयो ।

प्रहरी प्रशासन, स्थानीय तहहरु, मन्दिर व्यवस्थापन समिति र नागरिक सबैको संयुक्त प्रयासले मात्र यस पवित्र परम्परालाई सुसंस्कृत, सुरक्षित र अनुशासित रूपमा अगाडि बढाउन सकिने भएकोले सबै जिम्मेवार बन्नुपर्ने मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । मौलिक परम्परा, संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी जात्राहरू सभ्य र मर्यादित ढंगले मनाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ।
रात्री जात्रामा रातभरि पुजाआजासहित दामाहा बजाउने, झोडो, फाग गाउने, ठाडो खेल, देउडा खेल खेल्ने लगायत विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि गर्ने गरिन्छ।

मालिकार्जुन मन्दिरमा आज भएको सर्वपक्षिय छलफलमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र सिंह धामी, शैल्यशिखर नगरपालिका प्रमुख जिजयसिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, महाकाली नगरउपप्रमुख दुर्गाकुमारी खत्री बिष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेलसहित सुरक्षा निकायका प्रमुखहरु, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, नजिकका वडाअध्यक्षहरुसहित जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, सरोकारवालाहरु, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु लगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रचलित कानून र बैठकले गरेका निर्णय तथा तय गरेका आचारसंहिताको पालना नगरेको पाइएमा कडा कार्वाही गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?