अपिहिमाल गाउँपालिका पर्यटन विकासका दृष्टिले देशभरका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषित

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका पर्यटन विकासका दृष्टिले देशभरका स्थानीय तहहरूमध्ये उत्कृष्ट पालिका घोषित भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व र संस्थालाई सम्मान गर्ने क्रममा अपिहिमाल गाउँपालिकालाई ‘पर्यटन विकासमा उत्कृष्ट पालिका’को सम्मान प्रदान गरेको हो।

गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले मन्त्रालयमै पुगेर मन्त्रालयका सचिव हरिप्रसाद मैलानीबाट उक्त सम्मान ग्रहण गर्नुभएको छ। गत सेप्टेम्बर २७ मा (विश्व पर्यटन दिवस) अपिहिमाल गाउँपालिका उत्कृष्ट घोषित भए पनि सहभागी हुन नसकेकाले शुक्रबार मन्त्रालय पुगेर सम्मान ग्रहण गरेको अध्यक्ष बोहराले बताउनुभयो।

गाउँपालिकाले आफ्ना पाँच वर्षे आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र १० वर्षे पर्यटन रणनीति योजनाअनुरूप अपिहिमाललाई सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटन गन्तव्य तथा देशकै सुन्दर स्थलका रूपमा विकास गर्ने लक्ष्यसहित काम गर्दै आएको छ। सोही योजनाअनुसार काम गरेकै कारण गाउँपालिका देशभरकै उत्कृष्ट पालिका बन्न सफल भएको उहाँले बताउनुभयो।

अध्यक्ष बोहराले संघीय र प्रदेश सरकारका विभिन्न निकायहरूसँग सहकार्य गर्दै लक्ष्यभन्दा अघि अर्थात् तीन वर्षमै उत्कृष्ट पालिका बन्न सफल भएको बताउनुभयो।

पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य र सहयोग गर्ने नेपाल पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, युएनडीपीका कार्यक्रमहरू (एसटिएलआरपी र एसटीपीं), सुदूरपश्चिम प्रदेश पर्यटन इकाइ, नाट्टा सुदूरपश्चिम, तान, एनएमए, हानलगायत संस्थाप्रति गाउँपालिकाले आभार व्यक्त गर्नुभएको छ।

अध्यक्ष बोहराका अनुसार स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, गाउँपालिका बासी, होमस्टेकर्मी र होटल व्यवसायीहरूको संयुक्त प्रयासकै कारण अपिहिमाल गाउँपालिका पर्यटन विकासमा देशकै उत्कृष्ट पालिका बन्न सफल भएको हो।

यस अघि पनि ४५औं बिश्व खाद्य दिवसको अवसरमा नेपाल सरकार कृषि तथा पशुपंछी मन्त्रालय,कृषि विभागले अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाको रूपमा सम्मानित गरेको थियो । अर्गानिक अपि नाराका साथ विषादीरहित कृषि उत्पादन कार्यक्रम संचालन गरेको, स्थानीय रैथाने उत्पादन जौ, कोदो फापर, चिनु कागनु ,लसुन, आलु , मार्सि, मसलाबाली, तथा फलफूल खेति तर्फ अर्गानिक स्याउ तथा ओखर उत्पादनमा प्रोत्साहन गरेको कारण गाउँपालिकालाई प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?