दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुन धाममा लाग्ने जात्राको अवसरमा दुई दिन स्थानीय सार्वजनिक विदा दिएको छ । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित श्री शैल्यामालिकार्जुन धाममा लाग्ने जात्राको अवसरमा नगरपालिका भित्र दुई दिन (कार्तिक १७ र १८) गते सार्वजनिक विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले बताउनुभयो ।
शैल्यमालिकार्जुन धाममा कार्तिक १७ गते (भोली) त्रयोदशी तिथिका दिन शिखर पुजन जात्रा र १८ गते (पर्सी) चतुर्दशीका दिन मालिकार्जुन मन्दिर मडमा भव्य रात्री जात्रा लाग्दै छ । सोही जात्राको अवसरमा नगरपालिका मातहतका सम्पुर्ण कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु पुर्ण रुपमा बन्द हुने नगरपालिकाले जनाएको छ ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ र शैल्यशिखर नगरपालिकाको वडा ६ को सिमा क्षेत्रमा पर्ने मालिकार्जुन धाममा लाग्ने जात्रा सहभागिताको हिसाव यस क्षेत्रकै उत्कृष्ट हो । जात्राको अवसर मालिकार्जुनमा गाउँपालिकाले पनि यस अघि नै दुई दिन (कार्तिक १७ र १८) गते सार्वजनिक विदा दिइसकेको छ ।
शिखर पुजन जात्रा र मालिकार्जुन जात्रामा हजारौँको संख्यामा दर्शनार्थीको सहभागिता रहने गर्दछ । जात्रालाई व्यवस्थित बनाउन स्थानीय प्रशासन सुरक्षा चेकजाँच बढाएको छ, भने मन्दिर व्यवस्थापन समितिले पनि विभिन्न व्यवस्थापकिय काम गरिरहेको मालिकार्जुन विकास समितिका सचिव जनक सिंह धामीले बताउनुभयो ।
शिखर पुजन जात्रा र मालिकार्जुन मन्दिरमा लाग्ने रात्रीकालिन जात्रालाई सभ्य, भव्य र सम्झनयोग्य बनाउनका लागि सबैमा आग्रह गरिएको छ ।





प्रतिक्रिया