दार्चुला । नेकपा (एमाले)ले शनिबार दार्चुला सदरमुकाम खलंगामा विशाल जनप्रदर्शन गरेको छ। ‘प्रतिगामी षडयन्त्रविरुद्ध, संविधान र लोकतन्त्रको रक्षार्थ’ जिल्ला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा जिल्लाका नौवटै स्थानीय तहबाट सहभागिता जनाइएको थियो।
गत भदौ २३ र २४ गतेपछि देखिएको राजनीतिक परिवर्तन, संसद् विघटनको विषय तथा आगामी राजनीतिक दिशाबारे कार्यकर्तालाई जानकारी गराउन जनप्रदर्शन तथा जनजागरण सभा आयोजना गरिएको एमाले दार्चुलाका कार्यालय सचिव नारायणदत्त भट्टले जानकारी दिनुभयो।
विहान ११ बजे गल्फैबाट सुरू भएको र्याली सदरमुकाम बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो।
कोणसभामा बोल्दै एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले जेन–जी आन्दोलनका क्रममा देखिएको तोडफोड अराजक समूहको आडमा भएको आरोप लगाउनुभयो। देशभर सरकारी संरचना जलेका तथा दार्चुलामै पार्टी कार्यालयमा आगजनी र तोडफोड भएका घटनामा कुनै पनि देशभक्त नागरिकको संलग्नता नरहेको उहाँको भनाइ थियो।
उहाँले केही अराजक तत्वका कारण मुलुक संवेदनशील अवस्थामा पुगे पनि एमालेले जनजागरणमार्फत सत्य तथ्य जनतासम्म पुर्याउने अभियान जारी राख्ने बताउनुभयो। “एमाले जनताको हृदयमा बसेको, राष्ट्रियताको मुद्दा उठाउने र विकास निर्माणमा अग्रमोर्चामा रहने पार्टी हो,” नेता ठगुन्नाले भन्नुभयो। उहाँले सडक, विद्युत् र स्वास्थ्य सेवा गाउँ–गाउँ पुर्याएर एमालेले विकासको आधार तयार पारेको दाबी गर्नुभयो।
सामाजिक सञ्जालमा आलोचना भइरहेको विषयमा उहाँले प्रतिक्रियास्वरूप एमालेलाई गाली गरे मात्र पार्टी विचलित नहुने बताउनुभयो। “सामाजिक सञ्जालको गालीले एमाले कमजोर हुँदैन, हराउँदैन, एमाले सधैं जनताको बीचमै रहन्छ,” ठगुन्नाको भनाइ थियो।
त्यस्तै नेता ठगुन्नाले आजको भेला टेलर मात्रै भएको बताउदै सबै एमालेजनलाई मैदानमा उतारे सदरमुकाम खलंगामा ठाउँ नहुने ठोकुवा गर्नुभयो । ‘यो सभा हाम्रो अगुवा कार्यकर्ताको भेला हो । यो टेलर मात्रै हो । हजारौं जनसमुदाय ल्याएर कार्यक्रम ग¥यो भने सदरमुकाम खलंगामा अटाउदैनन् । गल्लीमा जाम लाग्छ । सदरमुकाममा मञ्च अभाव हुन्छ,’ नेता ठगुन्नले भन्नुभयो ।
दार्चुलामा सीमा सुरक्षादेखि विकास निर्माणसम्म एमाले अग्रसर रहेको उल्लेख गर्दै उहाँले राष्ट्रियता, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई एमालेको प्रमुख एजेन्डा रहेको बताए।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय समिति सदस्य हरदेव जोशीले आन्दोलनबाट प्राप्त उपलब्धि जोखिममा परेकाले एमाले सडकमा उत्रिएको बताउनुभयो। संसद पुनःस्थापना गरेर जनताको अधिकार सुनिश्चित गर्नुपर्ने जोशीको भनाइ थियो।
कार्यक्रममा पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, केन्द्रीय सदस्य हरदेव जोशीसहित प्रदेश र जिल्ला कमिटीका नेताहरूको सहभागिता रहेको थियो।





प्रतिक्रिया