दार्चुला । दार्चुलामा घरपालुवा पशुचौपायालाई माहामारीजन्य रोगबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको छ । मंगलबारबाट जिल्लाका ९ वटै स्थानीय तहमा घरपालुवा जनावरहरुलाई विभिन्न माहाकारीजन्य रोगबाट जोगाउनको लागी निःशुल्क खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख लाल बहादुर बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाई, भैसी, भेडा, बाख्रा, याक र चौरी लगायतका पशुमा एफएमडी, पिपिआर, लम्पी स्किन, स्वाइन फिवर लगायत रोगविरुद्ध खोप लगाइदै छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा ५० हजार गाई–भैसी र ४० हजारभन्दा बढी याक–चौरीलाई खोरेत विरुद्ध (एफएमडी) रोग नियन्त्रणका लागि खोप दिने लक्ष्य राखिएको छ। त्यस्तै ३० हजार लम्पी स्किन, ९० हजार भेडा–बाख्रामा पिपिआर, र बङ्गुरमा फैलिने स्वाइन फिवर विरुद्ध ६ सय मात्रा खोप लगाइने केन्द्रले जनाएको छ।
यसरी जिल्ला भरि १ लाख २० हजार ६ पशुचौपायालाई सोही मात्रामा खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी चन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
मंगलबार अभियान सुरु भएको पहिलो दिन मार्मा गाउँपालिकामा १ सय ५, नौगाड गाउँपालिकामा ७ सय, व्याँस गाउँपालिकामा ३ सय ५० पशुलाई खोप लगाईएको धामीले बताउनुभयो ।
त्यस्तै अपिहिमाल गाउँपालिकामा १ सय, दुहुँ गाउँपालिकामा, १ हजार २ सय, मालिकार्जुन गाउँपालिकामा १ सय १०, लेकम गाउँपालिकामा ४ सय, महाकाली नगरपालिकामा २ सय गरि कुल ३ हजार १ सय ६५ मात्रा एमएफडी खोप लगाइएको उहाँले बताउनुभयो ।
त्यस्तै नौगाड गाउँपालिकामा ४ हजार २ सय भेडाबाख्रामा पिपिआर खोप लगाइएको धामीले बताउनुभयो ।
खोप कार्यक्रमका लागी जिल्लाका नौं वटै स्थानीय तहका पशु विकास शाखाबाट कर्मचारी परिचालन गरिएको निमित्त कार्यालय प्रमुख बोहराले बताउनुभयो।
त्यस्का लागी सबै स्थानीय तहमा कम्तीमा ४ जना र बढीमा ५ जना कर्मचारी परिचालन गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया