कुटपीटमा परेका बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।
बुधबार साँझ कुटपीटमा परेका अध्यक्ष बिष्टको टाउकोमा रहेकाले थप उपचार लागि धनगढी रेफर गरिएको सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘अध्यक्षज्यूको टाउको चोट छ । रिङटा लाग्ने समस्या देखिएपछि थप उपचारका लागि उहाँ धनगढी जानुभएको छ ।’ कुटपीट हुँदा घाइते भएका अन्यहरुको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । बुधबार सुर्नयामा झडप हुँदा अध्यक्ष बिष्ट सहित ५ जना प्रहरी, ६ जना जना संघर्षरत पक्ष, ३ जना अध्यक्षसंग रहेका व्यक्ति गरेर १४ जना घाइते भएका थिए ।
गाउँपालिकाको केन्द्र सार्न नहुने भन्दै गाउँपालिकामा तालाबन्दी गरेको पक्षले बुधबार साँझ अध्यक्ष बिष्टमाथि कुटपीट गरेका थिए । गाउँपालिकाको केन्द्रका बिषयमा सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका बिषयमा कुनै निर्णय नगर्नुपर्ने उनीहरुको माग थियो । तर सुर्नया गाउँकार्यपालिकाको बैठकले गत बर्ष नै गाउँपालिकाको केन्द्र पबितामा सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।
यसैबिच नेपाली कांग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टमाथि भएको आक्रमणप्रति नेपाली कांग्रेस बैतडीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसले आज विज्ञप्ती जारी गर्दै कुनै बिषयवस्तुको निर्णय लिनुपर्दा वैधानिक र कानुनी बाटो हुँदाहुँदै अमानवीय घटना हुनु दुर्भाग्यपूर्ण भएको कांग्रेसले जनाएको छ ।
ज्यान जान सक्ने हिसाबले घटाइएको सो घटनाको वास्तविक छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न पनि कांग्रेसले सरकालाई आग्रह गरेको छ ।
यो पनि पढ्नुहोस : गाउँपालिका अध्यक्ष विष्टमाथि कुटपिट, ५ प्रहरी सहित १४ जना घाइते




