दार्चुलामा पछिल्लो समय महिला हिंसाका घटनाहरू बढ्दै

दार्चुला । दार्चुलामा पछिल्लो समय महिला हिंसाका घटनाहरू बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने हरेक वर्ष महिला हिंसाका घटना बढेको देखाउँछ। त्यसमध्ये घरेलु हिंसा, बलात्कार, बलात्कार प्रयासका घटना अत्यधिक बढेका छन्। महिलामाथि हुने हिंसामध्ये घरेलु हिंसाका घटनाको संख्या उच्च देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा दार्चुलामा महिला हिंसाका ३९ वटा घटना दर्ता भएका थिए। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ७७, आर्थिक वर्ष २०७९/०८० मा १ सय १३, आर्थिक वर्ष २०८०/०८१ मा १ सय १८ र आर्थिक वर्ष २०८१/०८२ मा १ सय २० वटा महिला हिंसाका घटना दर्ता भएका छन्।

यसरी पछिल्ला ५ वर्षमा जिल्लामा महिला हिंसाका घटना हरेक वर्ष बढ्दो क्रममा नै देखिएका छन्। चालु आर्थिक वर्षको हालसम्म पनि ४४ वटा महिला हिंसाका घटना दर्ता भएको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो।

यीमध्ये २०७७/०७८ मा ५, आर्थिक वर्ष २०७८/०७९ मा १७, आर्थिक वर्ष २०७९/०८० मा ५, आर्थिक वर्ष २०८०/०८१ मा ७, आर्थिक वर्ष २०८१/०८२ मा ४ र चालु आर्थिक वर्षको हालसम्म १ महिलामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ।

जबरजस्ती करणी उद्योग, बाल यौन दुर्व्यवहार, बालविवाह, बहुविवाह र महिलामाथि हुने हिंसाका आँकडा केलाउने हो भने अधिकांश घटनामा महिला नै बढी पीडित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भट्टले बताउनुभयो। यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि सङ्ख्या थपिएको प्रहरी अधिकारीहरूको तर्क छ। अपराधको सूचना प्रहरीमा आउने क्रम बढेसँगै समुदायमा कानुनको पहुँच पनि बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?