दार्चुला । दार्चुलामा यस वर्ष ओखर उत्पादनमा ठूलो गिरावट आएको छ । जिल्लामा यो वर्ष झण्डै ६७ प्रतिशतले ओखर उत्पादनमा कमि आएको हो ।
कृषि ज्ञान केन्द्र दार्चुलाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/०८३ मा १ सय ७१ हेक्टर क्षेत्रफलमा ५ सय ८५ मेट्रिक टन मात्र ओखर उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख शिशिर आचार्यले बताउनुभयो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा १ सय ६६ हेक्टर क्षेत्रफलमा १ हजार ७ सय ५० मेट्रिक टन ओखर उत्पादन भएको थियो। उत्पादन १ हजार १ सय ६५ मेट्रिक टनले घटेको छ, जुन कुल उत्पादनको करिब ६६.५७ प्रतिशत गिरावट हो। क्षेत्रफल पाँच हेक्टरले बढे पनि उत्पादन भने उल्लेख्य रूपमा घटेको कृषि उहाँले बताउनुभयो ।
यस वर्ष ओखरको दाना लाग्ने समयमा परेको अत्याधिक असिनापानी नै ओखर उत्पादनमा आएको गिरावटको मुख्य कारण रहेको आचार्यले बताउनुभयो । त्यस्का अलावा प्रतिकूल मौसमी अवस्था, वर्षा असन्तुलन, बिरुवामा देखिएका रोगहरुपनि कारक मानिएका छन्। उत्पादन घटेपछि जिल्लाका किसानहरूको आयमा प्रत्यक्ष प्रभाव परेको छ।लोकदर्पण टिभी-
दार्चुलाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, शैल्यशिखर, महाकाली नगरपालिकामा बढी ओखर उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित ओखर सहजै बिक्रि हुने गरेको उहाँले बताउनुभयो । ओखर खरिदका लागि व्यापारीहरु गाउँरमै पुग्ने गरेका छन् भने कृषि ज्ञान केन्द्रले समेत ओखर प्याकेजिङ र ब्रान्डिङमा सहयोग गर्दै आएको छ ।





प्रतिक्रिया